नेपाली कांग्रेसका सांसद एनपी साउदले नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताए
काठमाडौँ - नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले मुलुकको अर्थतन्त्र केही वर्षदेखि शिथिल अवस्थामा रहेको उल्लेख गर्दै आर्थिक सुधारका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
सांसद साउदले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण छ। केही वर्षदेखि मुलुकको अर्थव्यवस्था शिथिल अवस्थामा छ। आर्थिक सुधारको लागि सरकारले केही महत्त्वपूर्ण कदम चाल्नुपर्ने र बलियोसँग हिँड्नुपर्ने आवश्यकता छ।” उनले थपे, “यो सरकारको नीति तथा कार्यक्रम थप प्रभावकारी बनाएर लैजानुपर्छ। सरकारले ल्याउने बजेट छरिनु हुँदैन। विगतमा स्रोत सुनिश्चित नभई भनसुन र राजनीतिक दबाबमा बजेट लगेको उदाहरणहरू छन्। आगामी बजेटमा त्यो पुनरावृत्ति नहोस्।”









