नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)को दुई दिने केन्द्रीय सचिवालय बैठक आजदेखि सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेबाट सुरु भएको बैठकमा केन्द्रीय कमिटीका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे छलफल भइरहेको छ।
बैठकमा छलफल हुने प्रमुख विषयहरूमा:
-
प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता र नेताहरूको जिम्मेवारी हेरफेर।
-
आन्तरिक विवाद समाधान र आगामी रणनीतिका विषयमा छलफल।
-
आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र आगामी बजेटमा पार्टीको सुझाव।
-
नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण।
-
संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत समसामयिक राजनीतिक घटनाक्रम।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिका, समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको आन्दोलनको कार्यक्रम तय गर्ने विषयमा पनि छलफल हुने उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।
बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, प्रवक्ता जगन्नाथ खतिवडा, उपमहासचिव पार्वती कुमारी विशुन्खे लगायतका नेताहरू सहभागी छन्।
बैठकको दोस्रो दिन बुधबार पनि जारी रहने बताइएको छ।









