चैत १४ गतेदेखि सुरु हुँदै ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, दुई करोडको कारोबार हुने अनुमान
काठमाडौं । यही चैत १४ गतेदेखिमहिला उद्यमी महासंघ नेपालले आठ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ को आयोजना गर्ने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको हो । देशभरिका महिला उद्यमीहरूको प्रतिनिधि संस्थाको रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपालले उक्त मेला गर्न लागेको हो ।
महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्द्धन तथा बजारीकरण गर्ने कार्यलाई सहयोग पुर्याउन विगत एक दशकदेखि निरन्तर रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्दै आइरहेको छ । यसैको निरन्तरता स्वरूप यहि चैत्र १४ देखि १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागिएको हो ।
व्यापार मेलाको माध्यमबाट महासंघमा आबद्ध नेपालका ७२ वटा जिल्लाहरूका महिला उद्यमी जिल्ला सङ्घहरूमा आबद्ध ५ हजार ५ सयभन्दा बढी महिला उद्यमीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने महासंघले जनाएको छ ।
मेलाको समुदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ । पाँच दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघहरुबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ ।
मेला स्थलमा जम्मा १४४ वटा विक्रि स्टलहरु राखिनेछन् । जसमा २ वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्लासंघबाट सहभागि हुने महिला उद्यमीहरु र बाँकी ८२ वटा स्टलहरु स्वदेशी तथा विदेशी महिला उद्यमीहरुलाई उपलब्ध गराईने जनाइएको छ ।
यस वर्षको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०८१ का अवसरमा २ वटा प्याभिलियन सहित जम्मा १४४ वटा विक्रि स्टलहरु रहनेछन् । करिव ६० हजार उपभोक्ता तथा अवलोकन कर्ताहरुबाट मेला अवलोकन हुने तथा आर्थिक कारोवारमा सहभागिता रहने र करिव २ करोड २५ लाख रुपैयाँ बरावरको आर्थिक कारोवार हुने महासंघले जनाएको छ ।
मेला स्थलमा वातावरण मैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी ६ प्रकारका स्टलहरु रहनेछन् । मेलालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन गर्ने कार्यमा सहजीकरण गर्नको लागि अमेरिकाको आयोवा स्टेट युनिभर्सिटीका १६ जना विद्यार्थिहरुले स्वयम् सेवकको रुपमा सहजीकरण गर्नेछन् । भने २ जना प्रोफेसरहरुले मेलाको अवलोकन गर्नेछन् । मेलालाई व्यवस्थित गर्नको लागि क्याम्पसहरुमा अध्ययनरत थप १० जना नेपाली विद्यार्थिहरुले समेत स्वयम् सेवकको रुपमा सहजीकरण गर्नेछन् ।
मेला अवधिमा नेपाल भरि छरिएर रहेका महिला उद्यमीहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरु, हस्तकलाका सामाग्रिहरु, खाद्य सामाग्रिहरु, अन्तर्राष्ट्रिय वस्तुहरु, सेवामूलक वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विक्रि वितरण हुनेछ ।
मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरु र उनीहरुका उत्पादन सहितको सहभागिता हुने भएकोले नेपालका महिला उद्यमीहरुले उपयोग गरेका प्रविधिहरु, बजारीकरणको लागि अवलम्वन गरेका उपायहरु जस्तै वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ्ग लगायतका विषयमा जानकारी लिन पाउने छन् । साथै नेपालमा उत्पादित नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्नको लागि समेत यो मेला सहयोगी हुने महासंघको अपेक्षा रहेको छ ।
८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सञ्चालनको लागि नेपाल सरकारका विभिन्न निकायहरु, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, प्राईभेट कम्पनीहरु साथै नेपाल स्थित विदेशि राजदुतावासहरुबाट समेत सहकार्य र आर्थिक सहयोग प्राप्त भएको छ ।
जसमा उद्योग मन्त्रालय, उद्योग विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, अन्तराष्ट्रिय श्रम संगठन, नेपाल टेलिकम, नेपालका लागि अष्ट्रेलियन राजदुतावास, नेपालका लागि संयुक्त अरब ईमिरेट्सको राजदुतावास, नविल बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराईज बैंक, सिद्धार्थ बैंक, सानीमा बैंक, फोनपे, गिताञ्जली, फेडेक्स, थेम्स कलेज, सिजि मोटर्स प्रालि आदि रहेका छन् ।