आईपीएल २०२५: पहिलोपटक बंगलादेशी खेलाडी अक्सनमै असफल, कारण के?
काठमाडौं । भारतको चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) मा बंगलादेशी क्रिकेटर नदेखिने भएका छन् । भारतीय मिडियाका अनुसार, सन् २०२० यता पहिलोपल्ट आईपीएलमा कुनै पनि बंगलादेशी खेलाडी नदेखिने भएका हुन् । यसपल्ट १३ बंगलादेशी खेलाडी अक्सनका लागि उपलब्ध थिए तर तीमध्ये कसैको नाममा बोली लागेन ।
यस्तो हुनुमा कतिपयले दुई देशबीच बढेको तनावलाई कारण मानेका छन् । सोसल मिडियामा दक्षिणपन्थी विचारधारा राख्ने केही मानिसले यसलाई नरेन्द्र मोदीको सरकारसँग जोडिरहेका छन् । भारतको क्रिकेट बोर्ड र आईपीएलले बंगलादेशी खेलाडी नबिकेको विषयलाई कुनै टिप्पणी गरेका छैनन् । तर, बंगलादेशको क्रिकेट बोर्ड अधिकारीले यो विषय दक्षतासँग जोडिएको बताएका छन् ।
एक प्रयोगकर्ताले एक्समा लेखेका छन्, ‘बंगलादेशमा हिन्दुमाथि जे भइरहेको छ, त्यसलाई हेरेर आईपीएल टिमका मालिक बंगलादेशका खेलाडीमा बोली लगाउन सतर्क थिए ।’ अरु कतिले यसलाई आईसीसी अध्यक्ष जय शाहको निर्णय भनिरहेका छन् । तर, यस्तो आरोप लगाउनेले यो के आधारमा भनिएको भनेर प्रस्ट पार्न सकेका छैनन् ।
सन् २०२४ मा मुस्तफिजुर रहमान आईपीएलका लागि छानिएका एक मात्र खेलाडी थिए । उनले चेन्नई सुपरकिंग्सका लागि म्याच खेलेका थिए । सन् २०२५ मा आईपीएलको अक्सनका लागि १ हजार ५ सय ७४ खेलाडीले नाम दर्ता गराएका थिए । यीमध्ये ५ सय ७४ खेलाडीलाई १० टिममा सर्टलिस्ट गरिएको थियो । ५ सय ७४ मध्ये २ सय ८ खेलाडी विदेशी थिए ।
आईपीएलमा संसारभरका क्रिकेटरका लागि आफ्नो प्रतिभा देखाउने मौका पाउँछन् । यद्यपि, पाकिस्तानका क्रिकेटर यसमा सामेल हुँदैनन् । आईपीएलको सुरुवात सन् २००७ बाट भएको हो । पहिलो सिजनमा भने पाकिस्तानका खेलाडी सामेल थिए ।