image
image
कास्कीकोटवासीको आवाज: विकासको प्रतीक्षामा उपेक्षित गाउँ

कास्कीकोटवासीको आवाज: विकासको प्रतीक्षामा उपेक्षित गाउँ

काठमाडौँ - पोखरा महानगरपालिका-२४ अन्तर्गतको कास्कीकोट सहर नजिकै भए पनि विकासका दृष्टिले पछाडि परेको स्थानीयवासीले गुनासो गरेका छन्। संसदीय पत्रकार मञ्चले बिहीबार कास्कीकोटमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले खानेपानी, यातायातलगायतका आधारभूत सुविधाको अभाव झेल्नुपरेको बताएका छन्।

स्थानीय रामकुमारी सुवेदीले पामे, चिसापानी हुँदै कास्कीकोट जोड्ने सडक निर्माण नभएकाले दैनिकी कष्टकर बनेको बताइन्। २० वर्षअघि निर्माण गरिएको खानेपानी आयोजना जीर्ण हुँदा वितरणमा समस्या आएको स्थानीय हर्कबहादुर नेपालीले गुनासो गरे। मुहानकै अभावले कास्कीकोटवासीले वर्षौँदेखि पानी अभाव सहनुपरेको उनको भनाइ छ।

गण्डकी प्रदेश सरकारले सात वर्षअघि सुरु गरेको ‘एक घर, एक धारा’ योजना अधुरै रहेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरे। शव घाटसम्म पुग्ने बाटो जीर्ण अवस्थामै रहेकोले दाहसंस्कार गर्नसमेत कठिनाइ भएको बुद्धिबहादुर बस्नेतले बताए।

पर्यटकीय पदमार्ग तथा ऐतिहासिक कास्कीकोट दरबार क्षेत्रको संरक्षणमा राज्यले उपेक्षा गरेको पर्यटकीय पदमार्ग संरक्षण समितिका अध्यक्ष विष्णुहरि शर्माले बताए। त्यस्तै, कास्कीकोट स्वास्थ्यचौकीका प्रमुख विश्वराज तिवारीले पूर्वाधार र सामग्रीको अभाव रहेको गुनासो गरे।

शैक्षिक क्षेत्रमा पनि समस्या रहँदै आएको कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले बताए। विद्यालयले निःशुल्क पोशाक र पाठ्यपुस्तक उपलब्ध गराउँदा पनि विद्यार्थीको सङ्ख्या बढाउन नसकिएको उनको भनाइ छ।

वडाध्यक्ष भरतबहादुर अधिकारीले सीमित स्रोतसाधन र निर्माण व्यवसायीको लापरबाहीले विकास निर्माणमा ढिलाइ भएको स्वीकार गरे। प्रदेशसभा सदस्य प्रकाश बरालले लौरुक लिफ्टिङ खानेपानी आयोजनाले कास्कीकोटको पानी समस्या स्थायी रूपमा समाधान गर्ने विश्वास दिलाए। उनले आयोजनाको काम आगामी चैतसम्म सम्पन्न हुने आश्वासन दिए।

प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले जनमुखी बजेट निर्माण गर्न र योजनाको कार्यान्वयनमा चुस्तता अपनाउन प्रदेश सरकारलाई सुझाव दिए।

कास्कीकोटजस्तो ऐतिहासिक र सम्भावनायुक्त क्षेत्रको विकासमा सरकारको ध्यान केन्द्रित गराउन स्थानीयले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।