जोन्टा कल्ब अफ काठमाण्डौले मनायो जोन्टा इन्टरनेशनलको १०५ औं जन्मदिन
काठमाडौं । जोन्टा कल्ब अफ काठमाण्डौँले जोन्टा इन्टरनेशनलको १०५ औं जन्मदिन मनाएको छ । उक्त कार्यक्रममा महिला हक हितका लागि कटिबद्ध भएर लाग्ने जोन्टा कल्ब अफ काठमाण्डौले प्रतिबद्धता व्यक्त गरेको थियो । समारोहमा अध्यक्ष विना राणाले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा जोडदार रूपमा लाग्ने प्रण गरेकी थिइन् ।
उनले आफ्ना कार्यकालमा हुने कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराएकी छन् । दृढ़ संकल्प र अटुट साहसका साथ उनले जोन्टा कल्ब अफ काठमाण्डौँले गरेका उदाहरणिय कार्यहरुको बारेमा जानकारी गराइन् ।
सन् २०१२ मा काठमाडौंमा जोन्टा इन्टरनेशनलको भातृ संगठनको रुपमा स्थापना भएको जोन्टा क्लब अफ काठमाडौंले सेवा र वकालत मार्फत स्थानीय र राष्ट्रिय स्तरमा युवा र महिलाविरुद्ध हिंसा अन्त्य गर्नको लागि उनीहरुको आर्थिक, शैक्षिक र अन्य सम्बन्धित मुद्दाहरू लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक संस्था हो।