कर्णाली यश्विसले एभरेष्ट महिला भलिबल लिगको उपाधि जित्यो, ललितपुरलाई ३–२ ले पराजित
काठमाडौँ । कर्णाली यश्विसले शनिबार एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको रोमाञ्चक फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ सेटको संघर्षपूर्ण खेलमा पराजित गरेको हो।
कर्णालीले पहिलो दुई सेट २५–१७ र २५–२० को अन्तरले जिते पनि तेस्रो र चौथो सेटमा ललितपुरले २५–१२ र २५–१८ ले जितेर खेललाई पाँचौं सेटसम्म पुर्यायो। अन्तिम सेटमा कर्णालीले १५–१३ को जित निकाल्दै ललितपुरलाई स्तब्ध पार्यो र अपराजित रहँदै उपाधि हात पार्यो।
कर्णाली यश्विसले उपाधिसँगै सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता ललितपुर क्विन्सले तीन लाख रुपैयाँ हात पार्यो। कर्णालीकी जेनेप सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र २० हजार रुपैयाँ पुरस्कार पाउनका साथै फाइनल खेलकी उत्कृष्ट खेलाडीको रूपमा थप पाँच हजार रुपैयाँ प्राप्त गरिन्।









