मुग्लिन–नारायणगढ सडकखण्ड फेरि भासिँदै
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको नौ किलो क्षेत्रमा सडक बारम्बार भासिने समस्या उत्पन्न हुँदै आएको छ। यो सडक सञ्चालनमा आएदेखि नै विभिन्न स्थानमा अस्थायी रूपमा मर्मत गरेर सञ्चालन गरिएको छ। विशेषगरी नौ किलो र १७ किलो क्षेत्रमा सडक भासिने समस्या हरेक वर्ष देखिएको छ।
भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर सागर कार्कीका अनुसार, दुई वर्षअघि १७ किलो क्षेत्रमा मर्मत गरेपछि त्यहाँ समस्या समाधान भए पनि नौ किलोमा भने स्थायी समाधान हुन सकेको छैन।
आइतबार राति सडक भासिएपछि यातायात एकतर्फी मात्रै सञ्चालनमा आएको थियो, तर सोमबार दिउँसो सामान्य मर्मतपछि दुईतर्फी सञ्चालनमा फर्किएको छ। यो वर्षमात्र तीन पटक यो क्षेत्रमा सडक भासिएको र लामो क्षेत्रमा भासिएकाले समस्या थप जटिल भएको छ।
हाल माटो परीक्षणको काम अघि बढाइएको छ, र यो वर्षभित्र दीर्घकालीन समाधान खोज्ने योजना रहेको छ।