कटारीमा आमा र छोराको शंकास्पद मृत्यु: हत्याको आशंका
काठमाडौ । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेका एकै परिवारका आमा र छोरा बिहीबार बिहान आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार मृतकहरू अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापा हुन्, जसको शव घरभित्र रगतले लतपतिएको अवस्थामा फेला परेको छ।
स्थानीयहरूले यो घटना हत्या भएको दाबी गरेका छन्। नगरपालिकाका कार्यपालिका सदस्य गीता गिरीका अनुसार बालकको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ भने आमा निर्मला थापाको शव घोप्टो अवस्थामा भेटिएको छ। "बालकको शरीरमा धेरै चोटपटक देखिन्छ र आमाको अवस्था पनि शंकास्पद छ," गिरीले भनिन्।
घटना देख्ने स्थानीयहरूले तुरुन्तै इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरे पनि घटनास्थल दुर्गम क्षेत्रमा रहेको हुँदा प्रहरी टोली ढिलो गरी पुग्दैछ। डिएसपी चापागाईले भने, "घटनाको प्रकृति अझै स्पष्ट भइसकेको छैन, अनुसन्धान टोली घटनास्थलमा पुगेपछि मात्रै थप जानकारी आउनेछ।"
मृतकका श्रीमान अशोक थापा तीन वर्षदेखि भारतको दिल्लीमा अर्की श्रीमतीसंग बस्दै आएका छन्। निर्मला थापा भने गाउँमै एक सामान्य पसल सञ्चालन गर्दै छोरासँग बस्दै आएकी थिइन्।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिएको छ। स्थानीयहरूमा यस घटनाले ठूलो त्रास फैलिएको छ।