पहिरोका कारण हेटौँडा–काठमाडौँ कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध
काठमाडौ। हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङ क्षेत्रमा आज बिहान पहिरो खसेपछि उक्त सडकमा यातायात पूर्ण रूपमा बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, पहिरो हटाउने कार्य तीव्र रूपमा अघि बढिरहेको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
यसैबीच, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनाको सफल उद्धार गरिएको छ। बगरमा घाँस काट्न गएका ती चार व्यक्ति राप्ती खोलामा आएको बाढीले बीचमा अलपत्र परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, मनहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्धार कार्य सम्पन्न गरेको हो।
प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार, उद्धार टोलीले विभिन्न उपाय प्रयोग गरी चारै जनालाई सुरक्षित रूपमा बाहिर निकालेको छ।
अहिले स्थानीय प्रशासनले जनतालाई सुरक्षित रहन र जोखिमपूर्ण क्षेत्रमा नजान अपिल गरेको छ।