उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदै छन् ।
नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।
यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताए।
श्रेष्ठले भने, “बङ्गलादेश एकदमै राम्रो टोली हो । भारतजस्तो बलियो टोलीलाई उसले हराएको छ । त्यसैले आज निकै प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छु ।” सोमबार भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।









