लामखुट्टेका कारण अमेरिकामा पार्कहरू बन्द
काठमाडौँ। लामखुट्टेबाट सर्ने खतरनाक भाइरसको डरका कारण अमेरिकाले सहरका विभिन्न पार्कहरू बन्द गरेको छ । लाखुट्टेबाट सर्ने दुर्लभ तर घातक भाइरसको कारण अमेरिकी सहरका दर्जनौँ सार्वजनिक पार्कहरू बन्द गरिएका हुन् ।
उक्त सहरले लामखुट्टे सबैभन्दा धेरै सक्रिय हुने समयमा घर बाहिरका गतिविधिहरूमा पनि प्रतिबन्ध लगाएको छ । म्यासाचुसेट्सका १० समुदायहरूलाई इष्टर्न इक्विन इन्सेफ्लाइटिज (ईईई)को उच्च वा गम्भीर जोखिममा राखिएको अधिकारीहरूले बताएका छन् ।
यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने बताइएको छ । अहिलेसम्म ईईईको कुनै खोप वा औषधि नबनेको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले भनेको छ । सो क्षेत्रमा परीक्षण गरिएको लामखुट्टेमा ईईईको सङ्क्रमण रहेको परीक्षणले देखाएपछि समुदायहरूलाई अलर्टमा राखिएको छ । म्यासाचुसेट्स राज्यमा सन् २०२० यता पहिलो पटक मान्छेमा यो भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सन् २०१९ देखि सन् २०२० को बिचमा १७ जनामा ईईई पुष्टि भएको थियो भने यीमध्ये ७ जनाको मृत्यु भएको थियो । अमेरिकामा बर्सेनि ११ जनामा यो रोग देखिने गरेको सीडीसीले भनेको छ ।









