यसरी सम्पन्न गरियो महिला उद्यमीको तीज उत्सव कार्यक्रम
काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफविन)को आयोजनामा शनिवार काठमाडौंमा तीज उत्सव कार्यक्रम सम्पन्न गरिएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रर्दशनीसहित तीज उत्सव कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रममा बौद्ध धर्मगुरु स्याल्पो रिम्पोचेले उद्यमशीलताका लागि शुभकामना दिँदै विश्व शान्तिको आवश्यकता रहेको समेत बताए । त्यस्तै उनले शान्तिको महत्वमाथि प्रकाश पार्दै चित्त शान्तिले चित्त शुद्धि हुन्छ र यसले सबैलाई भलो गर्छ भन्ने सन्देश पनि दिएका थिए ।
कार्यक्रममा एफविनका अध्यक्ष शोभा ज्ञवालीले तिजको अवसरमा महिला उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताइन्। प्रदर्शनीले महिलाले तयार गरेका वस्तुको बजार प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखिन्। अध्यक्ष ज्ञवालीले भनिन्, “यो तीज मेला प्रथम पटक आयोजना गएिको हो र हाम्रो आफ्नै भवन कार्यालय भवनमा प्रर्दशनी राखिएको हो” ।
महासंघले महिला उद्यमीलाई प्रोत्साहन गर्दै आएको छ। कार्यक्रममा एफविनका संस्थापक सदस्य याङकिला सेर्पा, एफविनका प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तीज उत्सवको अवसरमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुका ३१ वटा स्टल राखिएको जानकारी एफविनकी कार्यकारी निर्देशक अभिलाषा पौडेलले दिइन्।प्रदर्शनीमा चुरा, टीका, शृंगारका सामग्री, ढाका, कुर्ता, सुरुवाल, खाद्य परिकारका स्टल, विभिन्न डिजाइनरले डिजाइन गरेका सामग्री, घरेलु उत्पादन लगायत राखिएको छ।









