'कल्की' ले तोड्यो 'जवान' र 'एनिमल' को रेकर्ड
काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। पहिलो दिनदेखि छैटौं दिनसम्म आइपुग्दा पनि 'कल्की २८९८ एडी' हेर्न दर्शकको भिड लागिरहेको छ।
सैकनिल्कको रिपोर्ट अनुसार छैटौं दिनमा फिल्मले २७ करोड ८५ लाख भारू कमाएको छ। जसमध्ये तेलुगुबाट ११ करोड २ लाख, तमिलबाट १ करोड २ लाख, हिन्दीबाट १४ करोड, कन्नडबाट २५ लाख र मलयालमबाट १ करोड २ लाख भारू कमाएको हो।
भारतीय बक्स अफिसमा फिल्मले ६ दिनमा ३७१ करोड भारू कमाएको छ। तेलुगुमा फिल्मले १९३ करोड २ लाख, तमिलमा २१ करोड र हिन्दीमा १४२ करोड कमाएको हो।
६०० करोड बजेटमा बनेको फिल्मले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। यसले छैटौं दिनमा कमाइको मामिलामा 'जवान' र 'एनिमल' लाई पछि पारेको छ। 'कल्की २८९८ एडी' ले रिलिजको छैटौं दिनमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड राखेको हो।
रणवीर कपूरको फिल्म 'एनिमल' ले छैटौं २७ करोड ८ लाख भारू कमाएको थियो भने शाहरूख खानको फिल्म 'जवान' ले २४ करोड भारू कमाएको थियो।
नाग अश्विनले निर्देशन गरेको फिल्म 'कल्की २८९८ एडी' मा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।