अवैध लागूऔषधको धन्दा, १० जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित देशको विभिन्न ६ स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ९ सय २९ ग्रामसहित दाङ लमही नगरपालिका–११ बस्ने ५२ वर्षीया आशा राई रहेका छन् ।
प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरी बल बिओपी फुटाहाबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका–१० धुलावारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ६० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–१ बस्ने २१ वर्षीय गंगा प्रसाद मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सातसय मिलिग्राम र नगद १ लाख ३९ हजार रूपैयाँसहित सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २४ वर्षीया कन्चन परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी झापा, बिर्तामोड नगरपालिका–३ अदुवाखोला पुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने २४ वर्षीय अशोक साह समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय मिलिग्राम र तराजुसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच बस्ने ३९ वर्षीय अजय कुमार बिक्षित, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २८ वर्षीय रिसव कौशल ठथेर र बाँके कोहलपुर नगरपालिका–१४ बस्ने १९ वर्षीय दिनेश बिक रहेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० एएन १२६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दार्चुला, महाकाली नगरपालिका–१ श्रीबगरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ७ सय ग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका–३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सु.प.प्र.०२–००१ त १३१० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्रलीमा कोदोको बोराभित्र राखेको उक्त पदार्थसहित चालक रानालाई पक्राउ गरेको हो ।साथै थप सोधपुछको क्रममा उक्त सामान पठाउने ब्याँस गाउँपालिका–४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवरलाई समेत प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।