चैत १६ देखि सुरु हुँदै ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला
काठमाडौं । ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । उक्त मेला यही चैत १६ देखि २० गतेसम्म हेरिटेज गार्डेन सानेपामा चल्ने छ । उद्यमी महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यही चैत १६ देखि २० गतेसम्म आयोजना हुने जानकारी दिएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ ।
मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका पहिरनका साथ र्याम्प वाक पनि गरिनेछ । हस्तकलाको महत्त्व दर्शाउन सम्पूर्ण अवलोकनकर्ताहरुलाई हस्तकलाका उत्पादनको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरिनेछ । यस व्यापार मेलामा नव महिला उद्यमी, अपाङ्गता भएका महिला उद्यमीहरूका लागि पनि स्टलको व्यवस्था गरिएको छ ।
मेलामा ५० हजार अवलोनकर्ता आउने र पाँच करोडको कारोबार हुने अनुमान गरिएको बताइन् । उनले मेलामा विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य रहेको बताइन् ।
अध्यक्ष ज्ञवालीले मेलाले उद्यमी महिलाहरूको सिपलाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउ पुर्याउने महासंघकी अध्यक्ष शोभा ज्ञवालीले विश्वास व्यक्त गरेकी छन् ।
महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा जम्मा ११२ वटा स्टलहरू रहनेछन् । मेलामा स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बङ्गलादेश लगायतको मुलुकका महिला उद्यमीहरूका उत्कृष्ट उत्पादनहरू पनि किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।