भारतले तेस्रो टी–२० खेलमा दक्षिण अफ्रिकामाथि शानदार जीत
काठमाडौं । सूर्यकुमारको विस्फोटक ब्याटिङ र कुलदीप यादवको घातक बलिङको मद्दतले भारतले तेस्रो टी–२० खेलमा दक्षिण अफ्रिकामाथि शानदार जीत हासिल गरेको छ । बिहीबार राति भएको खेलमा भारत १ सय ६ रनको विशाल अन्तरले विजयी बनेको हो ।
टी–२० मा रनको अन्तरले दक्षिण अफ्रिकाको तेस्रो ठुलो पराजय थियो । योसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल वर्षाले प्रभावित हुँदा दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी बनेको थियो ।
कुल्दीप यादवले २।५ ओभरमा मात्र १७ रन खर्चेर ५ विकेट लिए पछि भारतले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १३।५ ओभरमा ९५ रनमा अलआउट हुन पुग्यो । डेभिड मिलरले ३५, कप्तान एडेन मारक्रमले २५ रन तथा डोनोभान फरेराले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भारतका लागि रवीन्द्र जडेजाले २ तथा मुकेश कुमार र अर्शदीप सिंहले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले कप्तान सूर्यकुमार यादवको शानदार शतकको मद्दतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । प्लेयर अफ द म्याच यादवले मात्र ५६ बलमा ७ चौका र ८ छक्का हिर्काउँदै १ सय रन बनाए । ओपनर यशस्वी जैसवालले ४१ बलमा ६० रन बनाउँदै राम्रो साथ दिए । दक्षिण अफ्रिकाका लागि केशव महाराज र लिजाड विलियम्सले २–२ विकेट लिए ।









