११ महिनामा ४३ अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन भित्रियो
काठमाडौँ, २६, असार । गत साउनदेखि जेठ मसान्तसम्म मुलुकमा ४३ अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा सुन पाँचौं स्थानमा छ । सुनको आयात पोहोरभन्दा १०.७ प्रतिशतले बढेको हो ।
पोहोर सोही ११ महिनाको अवधिमा ३९ अर्ब ३१ करोड रुपैयाँ बराबरको सुन भित्रिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य नै बढेकाले पनि आयातित सुनको मूल्य बढेको जानकार बताउँछन् । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा सुनको मूल्य दैनिक रुपमा समायोजन हुँदै आएको छ ।
एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य करिब १५ प्रतिशतले बढेको छ । २०७९ असार अन्तिममा सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेकोमा हाल १ लाख ११ हजार रुपैयाँ हाराहारीमा छ । राष्ट्र बैंकले सुन आयातमा कोटा तोकेको छ । वाणिज्य बैंकहरूले आलोपालो दैनिक १० केजी परिमाणमा सुन आयात गरी व्यवसायीलाई बिक्री वितरण गर्दै आएका छन् ।









