माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ, १५, असार । माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
माल्टा पठाइदिन्छु भनी झापाकाे अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीया युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले भुवन भट्टराईलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि १२लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि पानीजहाजमा काम लगाइदिन्छु, मासिक एक लाख धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ६ लाख ३० हजार रुपैयाँ लिई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काठमाडौँकाे कालोपुलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।









