एयरपोर्टमा भिजिटमा जाने घरेलु कामदारको ताँती
काठमाडौँ, ३१, जेष्ठ । सरकारले वैदेशिक रोजगारको उद्देश्य राखेर भिजिट भिसामा विदेश नजान पटक–पटक आग्रह गरेपनि भिजिट भिसामा जानेको संख्यामा कमी आएको छैन । हालसम्म भिजिट भिसामा जान खोज्ने ३ हजार ५ सय ७९ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ ।
भिजिट भिसाको आवरणमा घरेलु कामदार तथा नक्कली श्रम स्वीकृति बनाएर विदेश जान लागेका ८५ जनालाई गत आइतबार राति एकैदिन फिर्ता गरिएको थियो । ब्युरोको विशेष पहल र निगरानीमा उनीहरूलाई फर्काइएको हो । श्रम स्वीकृति बिना घरेलु कामदारको हैसियतमा जाँदा हुन सक्ने जोखिमका बारेमा उनीहरूलाई सम्झाएर फर्काइएको ब्युरोले बताएको छ । आइतबार फर्काइएका ८५ जनामध्ये ६४ जना महिला र २९ जना पुरुष रहेका छन् ।
प्रहरीले जेठ २१ देखि २८ गतेसम्म एक हप्तामा २ सय ३ जना महिला र १ सय ३३ जना पुरुष गरी ३ सय ३६ जनालाई फर्काइएको बताएको छ । प्रहरीले भिजिट भिसामा पठाउन ट्राभल एजेन्सी, शैक्षिक कन्सल्ट्यान्सी र केही म्यानपावर कम्पनीका सञ्चालक पनि संलग्न भएको देखिएको दाबी गरेको छ ।
वैदेशिक रोजगार विभाग ताहचल समन्वय समितिका संयोजक कर्ण कटुवालले प्रहरीबाट प्राप्त जानकारी गम्भीर रहेको भन्दै इजाजतपत्रवाला संस्थाका सञ्चालकहरूले वैदेशिक रोजगार ऐन र नियमावलीको परिधिभित्र श्रम स्वीकृति लिएर मात्र युवायुवतीलाई वैदेशिक रोजगारमा पठाउन पटक–पटक आग्रह गरेकोे बताए । जथाभावी पठाएको अवस्थामा कसैले सहयोग नगर्ने उनको भनाइ छ ।
ब्युरोले जेठ महिनामा (२८ गतेसम्म) ४ सय ७९ महिला र ३ सय २४ पुरूष गरी ८ सय ३ जना, वैशाख महिनामा ३ सय १३ महिला र एक जना पुरूष गरी ३ सय १४ जना, चैतमा ५ सय २६ महिला र १ सय २७ पुरूष गरी ६ सय ५३ जना, फागुनमा ३ सय ३१ महिला र २ सय २६ पुरूष गरी ५ सय ५७ जना र माघमा १ सय ९३ महिला र ५७ पुरूष गरी २ सय ५० जना तथा भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ जना महिला र २८ जना पुरूष गरी ३४ जनासहित भिजिट भिसामा जान खोज्ने ३ हजार ५ सय ७९ जनालाई फर्काइएको बताएको छ ।
यसैबीच यूएईस्थित नेपाली दूतावासले व्यक्तिगत श्रम स्वीकृति लिएर यूएई आएकाहरू ठगीमा पर्ने र करारअनुसारको तलब र सेवा सुविधा नपाउने समस्या बढेको भन्दै व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरिरहेको बताएको छ । अबदेखि प्रमाणित कागजातको आधारमा एकाघरका परिवारका सदस्यलाई र यसअघि यूएईमा काम गरेका कामदारको मात्र व्यक्तिगत भिसा प्रमाणीकरण हुने दूतावासले जनाएको छ ।









