image
कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

काठमाडौँ, ३, चैत्त । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् ।

धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन् । कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन् । साबिकको पश्चिमाञ्चल क्षेत्रमै नमूना कारागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ्दै गएको जेलर पुनराम पौडेलले बताउनुभयो ।

“मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएको थियो । कैदीबन्दी बढ्दै जाँदा समस्या भएको हो । सेवा–सुविधाका हिसाबले अन्य जिल्लाका कारागारभन्दा राम्रो भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अप्ठ्यारो भएको पौडेल बताउनुहुन्छ ।

“धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको सङ्क्रमण छिटो फैलिने जोखिम बढेको छ”, उहाँले भन्नुभयो । बेला–बेलामा देशका कतिपय कारागारमा हैजा, झाडापखालालगायत सरुवा रोगका कारण एकै पटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेको छ ।

जिल्ला कारागारमा लागुऔषध कारोबारमा दोषी ठहरिएका कैदीबन्दी बढी छन् । खुला सिमानाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढी छ । बन्दी बढ्दै गए थेग्न गाह्रो हुने र अन्यत्र कारागारमा सार्नुपर्ने अवस्था आउन सक्ने कारागारका कर्मचारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।