८ महिनामा १० खर्ब ५७ अर्बको आयात
काठमाडौँ, १, चैत्त । चालू आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै ब्याजदर बढाउने निर्णय गरेपछि बजारमा माग घट्दा आयात गत वर्षभन्दा १९ प्रतिशत कम भएको हो ।
पछिल्लो समय आयातमा गिरावट आएपछि सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।
गत वर्ष फागुन मसान्तसम्म ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले यो वर्ष ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, विभागका अनुसार यो वर्ष ८ महिनामा २ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँ मात्रै राजस्व संकलन हुन सकेको छ । जुन लक्ष्यको ५७.९ प्रतिशत हो ।
बैंक तथा वित्तीय संस्थाले उपभोगका लागि सहजै कर्जा प्रवाह नगर्दा निजी सवारी साधानको बिक्री ह्वात्तै घटेको छ । सरकारको राजस्वमा मुख्य योगदान निजी सवारी साधानको हुने गर्छ ।
बजारमा माग कम भएपछि गत जेठमै भन्सार विन्दुमा पुगेका गाडीहरु जाँचपास हुन सकेका छैनन् । सरकारले गत बैशाखमा गरेको आयात प्रतिबन्ध लगाउने निर्णय पुसदेखि हटाउँदासमेत निजी सवारीको आयात बढ्न सकेको छैन ।
चालू आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २.२२ प्रतिशतले मात्रै वृद्धि भएपछि बजारमा समग्र माग घटेको छ ।









