सिजनमै सुनको कारोबार न्यून
काठमाडौँ, ११, माघ । माघ महिना लागेसँगै बिहेको सिजन सुरु भए पनि सुनको कारोबार भने बढ्न सकेको छैन। सुनको मूल्य बढ्दै गएपछि कारोबारमा गिरावट आएको हो। अहिले दैनिक १५ देखि २० किलो मात्र सुन बिक्री हुने गरेको महासङ्घले जनाएको छ। लगनको सिजन भए पनि मूल्य बढेपछि उपभोक्ताको क्रयशक्ति नहुँदा बजारमा माग नै कम आएको व्यवसायीको भनाइ छ। माग नबढेकाले नियमित आपूर्ति हुने सुनले बजार माग धान्ने गरेको व्यवसायीको भनाइ छ। बैङ्कले दैनिक १० किलो सुन वितरण गर्ने गरेका छन्।
महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले मूल्य बढेका कारण नयाँ गहनाको बिक्रीभन्दा पनि पुराना गहना बिक्री गर्न ग्राहक धेरै आउने गरेको जानकारी दिनुभयो। अति आवश्यक परेकाले पनि कम परिणाममा सुन खरिद गर्ने गरेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य निरन्तर बढ्दै गएको उहाँको भनाइ छ। मुलुकभर आठ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासङ्घको भनाइ छ।