एक महिनाभित्र विवरण राख्न म्यानपावरलाई आग्रह
काठमाडौँ, २५, पुस । वैदेशिक रोजगार विभागले म्यापावर व्यवसायीहरूलाई एक महिनाभित्र संस्थाको सबै विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा अपडेट गर्न अपिल गरेको छ ।
दर्ता भएका म्यानपावर कम्पनीहरू व्यवस्थित नहुँदा विभागलाई आफ्नो दैनिक कार्य सञ्चालन र प्रशासन सञ्चालनमासमेत बाधा परेको भन्दै विभागले सूचना प्रकाशन भएको मितिले १ महिनाभित्र आ–आफ्नो संस्थाका बारेमा अद्यावधिक विवरणहरू फेमिसमा राख्न आग्रह गरेको हो ।
विभागमा दर्ता भएका म्यानपावर कम्पनीहरूमध्ये कतिपयले आ–आफ्नो संस्थालाई कानूनबमोजिम व्यवस्थितरूपमा सञ्चालन नगरेको र त्यस्ता म्यानपावरलाई आफ्नो विवरण नराखे कारवाहीसमेत गरिने विभागका प्रवक्ता कृष्णप्रसाद भुसालले जानकारी दिए ।
म्यानपावर कम्पनीहरूले कम्पनी रहेको ठेगाना, फोन नम्बर, फ्याक्स नम्बर, इमेलसहित लाइसेन्स, शेयर लगत, गुगल नक्सा, सञ्चालकको नामसहित ३ पुस्ते विवरण, नागरिकता, संस्थाको परिचयपत्र, संस्थामा कार्यरत कर्मचारीको विवरण पठाउनुपर्ने विभागले उल्लेख गरेको छ ।









