३ वर्षपछि मकाउको रोजगारी खुल्यो, प्राथमिकतामा सेक्युरिटी गार्ड
काठमाडौँ, १४, पुस । मकाउमा नेपाली कामदारका लागि रोजगारी खुलेको छ । मकाउ ३ वर्षअघिसम्म नेपालीहरू सेक्युरिटी गार्ड र हस्पिटालिटी क्षेत्रको रोजगारीमा जाने गरेका थिए ।
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँगै मकाउकाे रोजगारी बन्द भएको थियो । सरकारले पनि मकाउ रोजगारी खुलाउन पहल नगरेको रोजगार व्यवसायीहरूले आरोप लगाउँदै आएका थिए ।
मकाउ लामो समयदेखि नेपाली सेक्युरिटी गार्डका लागि सुरक्षित रोजगार गन्तव्य देशका रूपमा रहेकाे छ । कोरोना महामारीका कारण कामदार पठाउन रोकिएको मकाउमा फेरि कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति जारी गर्ने भएको छ ।
मकाउका क्यासिनोहरूमा पर्यटक बढ्न थालेपछि नेपाली सेक्युरिटी गार्ड र हाउस किपिङजस्ता हस्पिटालिटी क्षेत्रमा कामदारको माग आउन थालेको रोजगार व्यवसायीहरूले बताउन थालेका छन् ।
मकाउ सानो टापुमा भएको देश हो । यहाँ करिब ४० वटाभन्दा बढी क्यासिनो सञ्चालनमा रहेकाे हङकङ सरकारले जनाएको छ । ती क्यासिनोहरूमा सेक्युरिटी गार्ड प्रायः नेपाली नै रहेको श्रम मन्त्रालयको अनुमान छ ।
मकाउमा होटल, क्यासिनो तथा सप्लायर कम्पनीहरूमा सेक्युरिटी गार्ड, क्लिनर, हाउस किपिङ, कुक, वेटर तथा जेल गार्डमा नेपाली जाने गरेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
नेपाली सेक्युरिटी गार्डहरूले मकाउमा राम्रो तलब र सुविधा पाउने भएकै कारण त्यहाँको रोजगारी नेपाली युवाको हकमा आकर्षक मानिन्छ । मकाउमा सेक्युरिटी गार्डले महिनामा कम्तीमा १८ हजार हङकङ डलर करिब (३ लाख रुपैयाँं) कमाउने गरेका छन् ।
श्रम मन्त्रालयले खाडी तथा मलेसियाको जोखिमयुक्त र परम्परागत वैदेशिक रोजगारीलाई नयाँ श्रम गन्तव्य खोजेर सिफ्ट गर्ने नीति कार्यान्वयन गरिरहेको छ ।
सरकारले तत्काल देशभित्र रोजगारी सिर्जना नभएसम्म सुरक्षित वैदेशिक रोजगारीमा कामदार पठाउने श्रम सचिव एकनारायण अर्यालले जानकारी दिए । 'तत्काल हामीलाई सुरक्षित वैदेशिक रोजगारी आवश्यक छ । त्यही भएर कामदारको सुरक्षा महत्वपूर्ण विषय हाे,' उनले भने ।









