image
image

१२ सय कामदार इजरायल पठाउने तयारी

काठमाडौँ, १३, पुस । सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने गरी छलफल अघि बढाएको छ ।

कृषि क्षेत्रमा कामदार पठाउने विषयमा इजरायल र नेपाल सरकारबीच पहिलो बैठक कात्तिकमा काठमाडौंमा सम्पन्न भएको थियो । 

सोही बैठकमा भएको छलफलअनुसार इजरायलको कृषि क्षेत्रमा करिब १ हजार २ सय जना कामदार पठाउने गरी नेपाल र इजरायलबीच प्रारम्भिक छलफल चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

कृषिमा कामदार श्रमिक पठाउन श्रम मन्त्रालयले अध्ययन समिति बनाएर काम अगाडि बढाएको छ । इजरायलले बैठकमा नेपालबाट केयर गिभरसँगै कृषिमा पनि श्रमिक लिने प्रस्ताव गरेको श्रम मन्त्रालय जनाएको छ । 

इजरायल आगामी फेबुु्रअरीभित्र कृषि क्षेत्रमा ४ सय जना कामदारको माग गरेको र मागअनुुसार श्रमिक पठाउने गरी छलफल भइरहेको श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाले जानकारी दियो । 

श्रम मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यही टोलीले इजरालय कामदार पठाउने विषयमा छलफल गरिरहेको छ । 

कृषि क्षेत्रमा जाने नेपाली कामदारको रोजगारी ग्यारेन्टी, सेवा–सुविधा, पारिश्रमिक, रोजगार सुरक्षा र बीमाका विषयमा ड्राफ्ट निर्माण गर्ने काम भइरहेको वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारले जानकारी दिए ।

केयर गिभरका लागि भाषा परीक्षामार्फत काम लिइरहेको इजरायलले कृषि क्षेत्रमा सोहीअनुुसार नै कामदार लिने प्रस्ताव गरेको निर्देशक सुनुवारले बताए ।

‘नेपालले पनि एउटा प्रष्ट खाका बनाएर श्रमिक पठाउने गरी अध्ययन गरिरहेको छ । इजरायलले भनेजस्तो तालिम गराएर श्रमिक पठाउने हो अथवा कृषिसँग सम्बन्धित श्रमिक पठाउने भनेर काम गर्दै छ’, उनले भने, ‘अहिले कृषिमा श्रमिक लिने मात्र भनेको छ । कृषिमा कस्ता श्रमिक लिने भनेर इजरायललाई भर्ना प्रक्रिया र ड्राफ्टको संरचना नेपालले मागेको छ । चाँडै २ देशका प्रतिनिधि बसेर टुंगो लगाउने प्रयास भइरहेको छ ।’

सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउँदा अनिवार्य श्रम सम्झौता र रोजगार ग्यारेन्टी गरेर मात्र पठाउने उनको भनाइ छ । 

गत वर्ष इजरायल र नेपालबीच भएको श्रम सम्झौतामा केयर गिभरका लागि १ हजार १ सय ७५ जना श्रमिक लैजाने सहमति गरेको थियो । त्यो बेला भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार १ सय श्रमिक रोजगारीका लागि इजरायल पुगिसकेको विभागले जनाएको छ ।

यस्तै, भाषा पास गरेको कामदारमध्ये ५६ श्रमिक इजरायल रोजगारीमा जान नपाएको विभागले जनाएको छ । उनीहरूलाई पठाउने पहल भइरहेको विभागको भनाइ छ । 

श्रम सम्झौतामै केयर गिभरका लागि इजरायल जाने श्रमिकको न्यूनतम ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको हुन्छ । इजरायल जाने नेपाली श्रमिकले महिनाको १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । 

विभागका अनुुसार कृषि क्षेत्रमा जाने श्रमिकले मासिक १ लाख ५० हजार रुपैयाँ कमाउन सक्ने विभागले जनाएको छ । उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउँछन् । कृषि क्षेत्रमा जाने श्रमिकको खर्च र श्रम अवधि उस्तै हुने श्रम मन्त्रालयले जनाएको छ ।

इजरायल सरकारले ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाका आकर्षक गन्तव्य देशभित्र इजरायल परेको थियो । इजरायल जाने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चसहित लगभग ९ सय ५० डलर खर्च लाग्ने गरेको छ ।

गत चैतदेखि असार महिनासम्ममा इजरायलले नेपाली श्रमिक लिने प्रक्रिया रोकेको थियो । इजरायलस्थित परराष्ट्र मन्त्रालयका कर्मचारीले श्रम सम्झौताको विषयलाई लिएर आन्दोलन गरेका कारण नेपाली श्रमिक लिन छाडेको थियो । 

इजरायलले विदेशी श्रमिक भर्ना प्रक्रिया नीतिमा फेरबदल गरेपछि नेपाली श्रमिक लैजान छाडेको र नेपालले भने पहल गरिरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।