image
image

५ हजार मौसमी कामदार कोरिया पठाइँदै

काठमाडौँ, १३, पुस । सरकारले श्रम स्वीकृति दिएर दक्षिण कोरियाका लागि मौसमी कामदार पठाउने भएको छ । मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)मा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

फेमिसमा छनोट भएका कामदारलाई सूचीकृत गर्ने योजना र कोरिया जाने सिजनल भिसाको अन्तिम श्रम स्वीकृति दिने तयारीका लागि छलफल भइरहेको विभागका महानिर्देशक उमाकन्त आचार्यले क्यानडा नेपाललाई जानकारी दिए ।

कोरियाका स्थानीय तहले माग गर्ने मौसमी कामदारको छनोट नेपालका स्थानीय तहले गर्ने र त्यसको अनुमति विभागले दिने गरी तयारी भएको उनले बताए । 

‘स्थानीय तहले मौसमी कामदारको छनोट प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ । कानुनी अड्चनलाई फुकाउन संघीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भइरहेको छ,’ उनले भने, ‘कोरिया जाने मौसमी कामदारको माग र छनोट दुवै देशका स्थानीय तहको समझदारीमा हुने छ । यसको छनोट स्थानीय पालिकाले गर्ने र छनोट भएका युवाको नामावलीअनुसार विभागले श्रम स्वीकृति जारी गर्छ ।’

कोरियाको सिजनल भिसामा श्रमिक पठाउने भएपछि नेपालका धेरै युवाले रोजगारी पाउने र यो एउटा अवसर भएको उनको भनाइ छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरिया सरकारबीच ‘सिजनल वर्किङ भिसा’ मा कामदार आपूर्ति गर्ने सम्झौता हुने र सोहीअनुुसार नेपालले कामदार पठाउने विभागले जनाएको छ । 

दुुवै देशबीच भएको सम्झौताअनुसार पहिलो चरणमा ५ हजार मौसमी कामदार पठाउने तयारीका साथ छलफल अघि बढेको श्रम मन्त्रालयले जनाएको छ ।

कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम लागू गरेको थियो । त्यही श्रम नियमअनुसार नै नेपालबाट कोरियाले श्रमिक लैजाने श्रम मन्त्रालयको भनाइ छ ।

कोरियाले यो वर्ष नेपालसहित थाइल्यान्ड, कम्बोडिया, भियतनामबाट मौसमीसँगै अन्य कामदार लिइरहेको छ । 

कोरियाको स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएकोे श्रमिक अभावका लागि मौसमी कामदार लिने खोजेको हो । कोरियाले नेपालबाट पहिलो चरणमा कृषि र कृषिसँग सम्बन्धित क्षेत्रमा मौसमी कामदार लैजानेछ ।

९ महिना कोरिया बस्न पाइने

कोरियाले सन् २०२१ डिसेम्बरदेखि कृषि तथा माछापालन क्षेत्रमा कामदारको अभाव खेप्दै आएको छ । त्यही अभाव टार्न कोरियाले मौसमी कामदार अन्य देशबाट लिने भएको हो । कोरिया जाने मौसमी कामदारले ७ देखि ९ महिना (कम्पनी) हेरेर बस्ने पाउने श्रम मन्त्रालयले जनाएको छ ।

यसअघि जाने मौसमी कामदारले कोरियामा ३ महिनामात्र बस्न पाउने व्यवस्था थियो । सन् २०२३ मा जाने मौसमी कामदारले ९ महिनासम्म बस्न पाउँछन् ।

मौसमी कामदार छनोटमा कुनै किसिमका मानवीय संशाधन तथा व्यक्तिगत संलग्नता नहुने गरी ‘सिजनल वर्किङ’ कार्यविधि बनेको श्रम मन्त्रालयले जनाएको छ । 

नेपालका तथा कोरिया सरकारका स्थानीय तहबीच सहकार्य भई फ्री भिसा र फ्री टिकटमै कामदार पठाउने गरी सहमति हुने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

कोरियाले विगतमा मौसमी कामदार छनोट गर्दा दलालका कारण कामदारले मोटो रकम असुली गर्ने गरेको गुनासो गर्दै आएको छ । तर नेपालबाट भने पहिलो पटक मौसमी कामदार जान लागेका हुन् । 

‘सिजनल वर्किङ’ मा कामदार पठाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भए पनि कार्यान्वयन हुुन केही समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।

कोरियाका ३० भन्दा बढी स्थानीय निकायबाट नेपाली मौसमी श्रमिकको माग आएको श्रम मन्त्रालयले जनाएको छ । कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा नेपालको श्रम मन्त्रालयले कानुनी अड्चन फुकाउन यससम्बन्धी निर्देशिकासमेत स्वीकृत गरिसकेको छ । 

कोरियामा घट्दो जनसंख्या, बुढ्यौलीपन, युवाको कृषिप्रतिको घट्दो अभिरुचिले कोरियाको कृषि क्षेत्रमा हाल कामदारको चरम अभाव छ । 

सन् २००८ देखि नेपालमा इपिएसमार्फत कामदार लैजाने गरेको छ । हाल कोरियामा ६० हजार नेपाली कामदार कार्यरत रहेको श्रम मन्त्रालयको तथ्यांकमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।