image
image

‘बार्बर’ सीपःवैदेशिक रोजगारीका लागि आकर्षक बन्दै

काठमाडौँ, १३, पुस ।  रुपन्देहीको बुटवल देबिनगर घर भएका १९ वर्षीय सरु गुरुङ यति बेला बार्बर सिकिरहेका छन् । उच्च शिक्षा हासिल गर्नका लागि सिड्नी अस्ट्रेलिया जान लागेका उनको अफर लेटर पनि आएको छ । तर त्यहाँ आफ्नो अध्ययनसँगै काम पनि गर्नुपर्ने भएकोले काम सिक्न बुटवलको समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीमा पुग्छन् । आफूले काम सिक्नका लागि आफ्ना मान्छेहरू लिएर कपाल काट्न सिकिरहेका छन् । 

उनी भन्छन्, ‘जुलाई तिर जाने हो सिड्नी, मेरो दाइ विदेश नै हुनुहुन्छ । उहाँले केही सिप सिकेर आऊ भन्नुभयो, त्यसमा पनि बार्बरको राम्रो स्कोप भएकोले यही सिक्दैछु । ’ साइड जबको लागि काम सिकेर जाँदा सजिलो हुने भएकोले विगत १ महिनादेखि आइरहेको उनले बताए । उनले आफूमा कामहरूको सीप भएमा सहज तरिकाले राम्रो आम्दानी गर्न सकिने भएकोले काम सिकिरहेको उनको तर्क छ । 

गुरुङ मात्रै होइन बार्बर सिक्नकै लागि झापाबाट बुटवल आएका २० वर्षीय पप्पु ठाकुर सकेसम्म स्वदेशमा नै केही काम गर्ने योजनामा रहेको सुनाउँछन् । उनी सामाजिक सञ्जाल टिकटकको माध्यमबाट राम्रो तरिकाले तालिम दिएको देखेर यति टाढा बुटवल आएको बताउँछन् । आफ्ना नजिकका मान्छेहरू यहाँ नभए पनि डमीको कपाल काटेर उनले कामहरू सिकिरहेका छन् । स्वदेशमा सैलुन व्यवसाय सञ्चालन गर्न नसकेमा विदेश गए पनि राम्रो आम्दानी हुने भएकोले गुणस्तरीय सीप आर्जन गर्न समृद्धिमा आएको उनको भनाइ छ । 

विदेशमा पनि राम्रो अवसर

वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनमा गइरहेकाहरूलाई सीप बिना कामहरू गर्न गाह्रो हुने भएकोले सजिलो र आम्दानी राम्रो गर्न सकिने सीप सैलुन सिकेर जानु राम्रो हुने बताउँछन् समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमी बुटवलका सञ्चालक मोहन ठाकुर । 

नेपालमा स्वरोजगार हुन र विदेशमा गएर जागिर तथा व्यवसाय सञ्चालन गर्नका लागि हेयर कटिङ र हेयर केमिकलको काम निकै राम्रो भएको बताउँदै सञ्चालक ठाकुरले लगानी थोरै गरेर आम्दानी मनग्गे कमाउन सकिने हुँदा यो सीपमा आकर्षण बढिरहेको बताउँछन् । 

‘बार्बर वा हेयर कटिङ र हेयर केमिकलको काम निकै राम्रो स्कोप भएको क्षेत्र हो । सीप नभएका व्यक्तिहरूलाई रोजगारीको कुनै समस्या नै छैन । नेपालमा धेरै स्वरोजगार बनिसक्नुभएको छ भने विदेशमा गएकाहरूले पनि अहिलेसम्म काम पाएनौ भन्ने गुनासो गर्नुभएको छैन’, उनी भन्छन्, ‘हामीले बुटवलबाट सिकाउँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार  नै सिकाउँछाैँ । किनकि म आफैँले पनि विदेशबाट सिकेर आएको हो । हुन त मैले आफ्ना पुर्खौली पेसालाई परिष्कृत गरेको हो । तर मैले धेरै कुराहरू विदेशबाट सिकेको छु । त्यही भएर पनि होला मसँग सिक्न आउनेहरू सबै उत्कृष्ट होउन् भन्ने चाहन्छु ।’

सुन्दर हुन सबैलाई मन लाग्ने तर्क गर्दै उनले बार्बरको काम भनेकै व्यक्तिगत स्वास्थ्य र सुरक्षासँग प्रत्यक्ष जोडिने भएकोले पनि यो व्यवसाय कालान्तरसम्म पनि चलिरहने  बताउँछन् उनी । उनी भन्छन्, ‘नङ तपाईँले घरमै काट्न सक्नुहुन्छ, कपाल त सक्नुहुन्न नि ! यो सर्वसुलभ पैसा नै रहन्छ । कपाल नकाटी कोही बस्न पनि सक्दैन, दारी पनि मिलाउनुपर्छ । जस्तोसुकै अवस्थामा पनि यो काम चलिरहन्छ ।’

बार्बर तथा सैलुन व्यवसाय परिश्रममूलक व्यवसाय रहेको तर्क सञ्चालक ठाकुरको छ । तीन महिने सीप सिकेर ८–१० लाख रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गर्दा ८० हजारदेखि १ लाखसम्म मासिक बचत गर्न सकिने उनको दाबी छ । १४ लाखको लगानीमा तीन वर्षअघि स्थापना भएको एकेडेमीले २ सय बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको ठाकुरको दाबी छ । तालीम लिनेहरू ३० वर्ष उमेर समूहभित्रका रहेको बताउँदै उनले यहाँ तालीम लिएर आफ्नै व्यवसाय सञ्चालन गर्नेहरू पनि सफल देखिएको दाबी छ । बुटवलको अमर पथ सिंह कम्प्लेक्समा रहेको समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमी बुटवलको पहिलो र व्यवस्थित सैलुन र एकेडेमी हो । 

सन्तुष्ट छन् व्यवसायीहरू

बार्बर सीप सिकेर कपिलवस्तु चार नम्बर जितपुरमा सैलुन सञ्चालन गर्दै आएकी सन्ध्या न्यौपाने यो पेसाप्रति सन्तुष्ट छिन् । कस्मेटिक व्यवसायबाट आम्दानी निकै राम्रो हुने भए पनि धेरै दुःख हुने भएकोले सैलुन व्यवसायतर्फ आकर्षित भएकी हुन् । भौतिक संरचना र सामाग्रीहरूसहित  १९ लाख लगानीमा २०७९ असारमा व्यवसाय सुरु गरेकी २८ वर्षीया न्यौपानेले दैनिक ५ हजारको सेरोफेरामा आम्दानी गरिरहेकी छन् । उनले बुटवलमा रहेको समृद्धि हेयर सलुनको फ्रेन्चाइज समेत लगेर ३ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेकी छन् । उनी भन्छिन्, ‘कस्मेटिक गर्दा सामान ल्याउँदा निकै दुःख थियो । यता लगानी गरेर राम्रो आम्दानी भइरहेको छ । सन्तुष्ट छु ।’

यस्तै नवलपरासी पश्चिम बर्दघाट कि २७ वर्षीया गंगा थापा पनि यति बेला बार्बर (सैलुन) सीप सिकेर स्वरोजगार बनेकी छन् । पहिले सामान्य पार्लरमा काम गर्दै आएकी उनले एकेडेमीबाट सीप सिकेर सैलुन सञ्चालन गरिरहेकी छन् । ३ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेकी उनले दुई महिना सीप सिकेर १८ लाखको लागतमा सैलुन सञ्चालनमा ल्याएकी हुन् । उनी भन्छिन्, ‘मैले पहिले पार्लरमा काम गर्थेँ । केही सामान्य कुराहरू त थाहा थियो । तर दुई महिना सीप सिकेँ, त्यसपछि नै व्यवसाय सञ्चालन गरेँ । अहिले राम्रो आम्दानी भइरहेको छ । एकदमै खुसी छु ।’

यता कस्मेटिक होलसेल सञ्चालन गर्दै आएकी दाङकी २९ वर्षीय पूजा खनालले पनि समयको मागले दाङबाट सेवा दिने गरी सैलुन सञ्चालन गरेकी छन् । ५०—६० लाखको लगानीको व्यवसायलाई साइडमा राखेर १० लाखको लगानीमा सैलुन व्यवसाय सञ्चालन गरेकी छन् । सामाग्री ल्याउन निकै दुःख र उधारो कारोबारको समस्या देखिएको बताउँदै राम्रो आम्दानी गर्न सकिने भएकोले व्यवसाय परिवर्तन गरेको उनको भनाइ छ । २ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिई रहेकी खनालले मासिक ५० हजार नाफा कमाइरहेकी छन् । सैलुन अझै फुलफेजमा सञ्चालनमा आई नसकेको अवस्थामा पनि राम्रै आम्दानी भइरहेकोले सन्तुष्ट रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।