पोर्चुगलको नाममा २७ लाख ठग्ने पक्राउ
काठमाडौँ, २१, मंसिर । वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिन्छु भन्दै २७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । वैदेशिक रोजगार विभागको आग्रहमा प्रहरीले भक्तपुर गठ्ठाघरबाट झापाको कन्काई नगरपालिका ७ घर भई भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार आचार्यले उमेश अधिकारीसहित चार जनालाई पोर्चुगल पठाउने र मासिक एक लाख रुपैयाँ कमाइ हुने प्रलोभनमा पारी २७ लाख रूपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
पोर्चुगल जान प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने बताउँदै चार जनाबाट २७ लाख रुपैयाँ लिएर आचार्य फरार भएका थिए । वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गरी थप अनुसन्धान तथा कारबाहीका लागि आचार्यलाई थुनामा राखिएको प्रहरीले बताएको छ ।









