७ महिनामा ३ लाखभन्दा धेरै युवा राेजगारीका लागि विदेशिए
काठमाडौँ, २२, कार्तिक । याे वर्ष वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३ लाख नाघेको छ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा नै ३ लाख १ हजार ६ सय ८७ नेपाली रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।
गत माघ महिनामा संस्थागत, रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी ४८ हजार ६ सय ७४ जना रोजगारीका लागि विदेशिएकाे विभागले जानकारी दिएको छ । माघ महिनामा संस्थागत रुपमा म्यानपावर कम्पनीमार्फत २५ हजार १ सय ७१ जना विदेश गएका छन् । व्यक्तिगत रिइन्ट्रीमार्फत २५ हजार २ सय ५५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा १२ सय ३४ जना विदेश गएका छन् ।
तथ्यांकअनुसार गत माघ महिनामा सबैभन्दा धरै ११ हजार १ सय १० कामदार साउदी गएका छन् । साउदीपछि यूएई १० हजार ८९, कतार १० हजार ७ सय ६४, २ हजार २ सय ९८ जना कुवेत गएका छन् ।
पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको थियो, भने कतार जानेको संख्या ४ हजार ८ सय २२ रहेको थियो ।
माघ महिनामा रोजगारीका लागि ८२ वटा देशमा नेपाली पुगेका छन् । पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका थिए । पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।









