image
image

मलेसियामा नेपाली कामदारको रोजगारी संकटमा

काठमाडौँ, ३०, जेठ । वैदेशिक रोजगार विभागमा दर्ता रहेका ८ सय ६० मध्ये एक तिहाई बढी वैदेशिक रोजगार व्यवसायी यतिखेर मलेसियामा छन् । करिब साढे तीन वर्षपछि सुचारू भएको मलेसियाको रोजगारी पुरानै लयमा फर्किने सम्भावना कम रहेको क्वालालम्पुरबाट टेलिफोन सम्पर्कमा आएका वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।

करिब तीन हप्तादेखि मलेसियाको मार्केटिङमा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव सुजितकुमार श्रेष्ठले बंगलादेशका कामदारका कारणले नेपाली कामदारको माग घट्न सक्ने खतरा देखिएको बताए । नेपाल र मलेसियाबीच भएको श्रम समझदारी र त्यसअघि तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले बिना कारण गरेकोे १५ महिना लामो बन्दको कारणले मलेसियामा नेपाली कामदारको विकल्प फेला पारेकोले नेपालले सबैभन्दा बढी गुमाउने जोखिम देखिएको हो । 

 

नेपाली कामदारको मुख्य गन्तव्य मुलुक मानिएको मलेसियामा मासिक १० हजारको हाराहारीमा नेपाली कामदार जाने गरेकोमा अहिले ह्वात्तै घटेको छ । मलेसियाले अरू देशबाट नपाउने तर नेपालमा पाउने सुरक्षा गार्ड अन्य देशबाट पनि लिन थालेको कारणले नेपालीको रोजगारी अवसर खुम्चिएको श्रेष्ठले बताए ।

नेपाल र मलेसियाबीच गरिएको श्रम सम्झौतामा नेपाली कामदारले पाउने तलब र सुविधामा स्पष्टता एवं एकरूपता र गन्तव्य मुलुकसम्म पुग्न लाग्ने खर्चसमेत रोजगारदाताले नै व्यहोर्ने सहमति भएको भए पनि त्यसमा रोजगारदाता सन्तुष्ट नरहेको बताइएको छ । बंगलादेशका कामदार लैजाँदा खर्च नलाग्ने तर सोही काममा नेपाली कामदार लैजाँदा खर्च बढ्ने गरेकोे कारणले उनीहरू बंगलादेशतर्फ आकर्षित भएको नेपाली व्यवसायीहरूको बुझाई छ ।
 
लागतका अतिरिक्त श्रम स्वीकृतिको अवधिमा पनि मलेसियन रोजगारदाताहरूले असन्तुष्टि जनाएका छन् । श्रम सम्झौता अनुसार नेपाली कामदारको श्रम स्वीकृति अवधि दुई वर्षको छ । तर बंगलबादेशबाट आउने कामदार कम्तीमा ५ वर्ष काम गर्छन् । एउटै सरकारी दस्तुर तिरेर निकालेको डिमाण्डमा नेपालबाट कामदार लैजाँदा दुई वर्षपछि पुनः दस्तुर तिर्नुपर्ने, तर बंगलबादेशबाट जाने कामदार कम्तीमा पाँच वर्ष काम गर्ने भएपछि रोजगारदाताहरूले लागतको मुल्यांकन समेत गरेर आफुहरूसँग असन्तुष्टि जनाएको हाल मलेसियामा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व द्वितीय उपाध्यक्ष भूवनसिंह गुरूङले बताए । 

फ्रि भिसा फ्रि टिकटको निर्णय कार्यान्वयनमा जोड दिइरहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ व्यवसायीहरूले डिमाण्ड ल्याउन पैसाको मुठो बोकेर गएको कारणले मलेसियाबाट सेवा शुल्क र हवाई टिकट नआएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूका अगाडि नै असन्तुष्टि जनाएका छन् । तर बंगलादेशबाट रोजगारीका लागि मलेसिया जाने कामदारको लागत बंगलादेशको दैनिक पत्रिका एशिएन एजका अनुसार औषतमा ४ लाख १७ हजार बंगलादेशी टाका रहेको छ । आइतबारको सटही दरअनुसार उक्त रकम ५ लाख ५८ हजार नेपाली हुन्छ । 

बंगलादेशले मलेसिया कामदार पठाउन गत हप्ता मात्रै २५ वटा म्यानपावर छनोट गरेकोे छ । १३ सयमध्ये २५ वटा मात्र कम्पनी छनोट हुँदा यसअघि छनोट भएका १० वटा कम्पनीले भन्दा बढी रकम उठाउने बंगलादेशका छनोटमा नपरेका व्यवसायीहरूको दाबी छ । उनीहरूले २५ वटा म्यानपावर कम्पनीको सिण्डिकेटले कामदारको लागत थप बढाउने दाबी गरेका छन् । उनीहरूले गरेकोे दाबी सत्य भएमा नेपाल आउने डिमाण्ड बंगलादेशले लैजाने नेपाली व्यवसायीहरुले आंकलन गरेका छन् ।

नेपालबाट म्यानुफ्याक्चरिङ, सुरक्षागार्ड र सर्भिस सेक्टरमा कामदार जाने गरेका छन् । नेपाली सुरक्षागार्डको योग्यतामा केही वर्षयता त्यहाँका रोजगारदाताले प्रश्न उठाउँदै आएका छन् । सम्झौता अघि सुरक्षागार्ड छुट्टै छनोट एवं भर्ना प्रक्रियामार्फत पठाइने गरिएको थियो भने श्रम सम्झौतामा नेपाली सुरक्षागार्डलाई पनि उल्लेख भएको शून्य लागतको नयाँ प्रक्रिया अनुसार पठाइने सहमति छ । 

मलेसियामा अहिलेसम्म ४ लाख आप्रवासी कामदारको एप्रुभल भएको भन्दै निवर्तमान महासचिव श्रेष्ठले बंगलादेशीहरू हाबी नभएको अवस्थामा त्यसको करिब २० प्रतिशतले हुने झण्डै ८० हजार डिमाण्ड नेपाल आउने बताए । जुन संख्या नेपालमा गरिएको आंकलन भन्दा धेरै कम हो । मलेसिया जाने कामदारको संख्या घट्दा त्यसको प्रत्यक्ष असर रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्रमा पर्न सक्ने कतिपयको टिप्पणी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।