कान्समा नेपाली फिल्मले पहिलोपटक जित्यो अवार्ड
काठमाडौँ, १५, जेठ । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो ।
यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक शाह कान्सकै मञ्चमा पुगेका थिए ।
नेपाली फिल्मले पहिलोपटक कान्समा औपचारिक रुपमा भाग लिएको थियो र पहिलो अवसरमै अवार्ड पनि जित्न सफल भएको छ ।
यो फिल्मको स्क्रिप्ट र डायलग स्वयं शाहले लेखेका हुन् भने छायांकन उज्वलकुमार बस्ताकोटीले गरेका हुन् । अंकिता यादव, सुजिता साह र प्रीति झाले यसमा अभिनय गरेका छन् । नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्तरुपमा यसलाई निर्माण गरेका हुन् ।
११ दिनसम्म चलेको कान्समा यसपटक नेपाली अभिनेत्री सुरक्षा पन्तले आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’बाट प्रतिनिधित्व गर्दै रेडकार्पेट नापेकी थिइन् ।