अपर हेवाखोलाले जेठ १० बाट ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौँ, २८, वैशाख । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । उक्त शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ २४ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ८ गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।