पोखराकाे मेयरमा कांग्रेसबाट १८ जनाकाे उम्मेदवारी
काठमाडौँ, ४, वैशाख । पाेखरा महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसबाट १८ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस पोखरा महानगर समितिले नाम दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा आठ जनाको उम्मेदवारी परेको हाे ।
मेयरका लागि कांग्रेसबाट गंगाधर पराजुली, सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोख्ररेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखेकाे उम्मेदवारी परेकाे छ । यस्तै किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, ऋषि सापकोटा र गणेश भट्टराईले नाम दिएका कांग्रेस पोखरा महानगर समितिका सचिव गणेश थापाले जानकारी दिनुभयाे । विन्दुकुमार थापा गण्डकी प्रदेशका मन्त्री हुनुहुन्छ ।
यस्तै उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे जिसी, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, चिनु गुरुङ र मिलन थापाले उम्मेदवारी दिएका छन् ।
कांग्रेस महानगर समितिको सचिवालयले हिजाे शनिवार सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको थियो ।
सत्तारुढ गठनबन्धनमा पोखरासहित देशका ६ महानगरपालिकामा कसको भागमा के पर्ने निर्णय भइ नसके पनि कांग्रेसले भने पोखराकाे मेयर छान्ने काम अगाडि बढाएको छ । पोखरामा मेयरकाे उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्दै कास्की कांग्रेसको टोलीले केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको थियो ।









