नेप्सेमा दाेहाेराे अंककाे वृद्धि
काठमाडौँ, ८, चैत । आज (मंगलबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । लगातार सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । हिजाे साेमबारदेखि फेरि सेयर बजार पुन: सम्हालिने प्रयास गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा पुगेकाे छ । नेप्से ०.४८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४९८.३६ मा पुगेको छ ।बजारमा अर्थमन्त्री फेरिने चर्चा चुलिएकाे छ । यस्तै, देशकाे बीग्रँदाे अर्थतन्त्र सुधार्न प्रधानमन्त्री आफै लागी परेका छन् । अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको हाे । विगत ८ महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै उच्चस्तरीय समिति गठन गरी अहिलेकाे चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् । यी कुराहरूले पनि लगानीकर्ताहरूमा नयाँ आशा जागेको छ र मनोबल बढेको छ ।
कूल २३५ वटा कम्पनीकाे ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।









