कुरिलोको मूल्य घट्दा किसान चिन्तित
काठमाडौँ, ३, चैत । उपत्यकामा दुई महिनाअघि मात्रै प्रतिकिलो ९ हजार रुपैयाँसम्म पुगेको कुरिलोको मूल्य अहिले ६ सय रुपैयाँमा झरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हाल न्यूनतम ६ सय रुपैयाँ र अधिकतम ८ सय रुपैयाँ किलोमा कुरिलो विक्री भइरहेको छ । माघ १७ मा कुरिलोको मूल्य किलोकै २५ सयदेखि ९ हजार रुपैयाँसम्म पुगेको थियो ।
अब कुरिलोको सिजन शुरु भएकाले मूल्य अझै घट्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘बेमौसममा बाहिरबाट ल्याएर बेचिन्थ्यो, अहिले स्थानीय उत्पादन बजारमा आउन थालेको छ,’ उनले भने, ‘मूल्य विस्तारै घट्दै जाने क्रममा छ ।’ झापा, सुर्खेतलगायत केही जिल्लाका किसानले कुरिलो टिप्न शुरु गरिसकेका छन् । उपत्यकामा भने कुरिलो टिप्ने बेला नभएको भक्तपुरस्थित सिपाडोलकी सरिता खाइजुले बताइन् । ‘यो चोटी कुरिलोमा मल हाल्न पाएका छैनौं, त्यसैले टिप्ने बेला भएको छैन,’ उनले भनिन्, ‘बजारमा मल नै छैन, २/३ महिना भइसक्यो ।’
चालु आर्थिक वर्षको ७ महिनामा २ लाख २० हजार रुपैयाँ बराबरको ११ हजार ५ सय १३ किलो कुरिलो भारतबाट आयात गरिएको भन्सार विभागको तथ्यांक छ । ‘काठमाडौंतिर लैजान सम्भव नभएकाले यतैतिर बेचिरहेको छु,’ सुर्खेतका एक किसानले भने, ‘अहिले यतैको होटल र बजारतिर किलोको ३/४ सय रुपैयाँमा बेचिरहेको छु, काठमाडौंमा ८ सय रुपैयाँ किलो छ रे ।’ करिब ५ रोपनी जग्गामा लगाएको कुरिलो अहिले दैनिक ५० किलो उत्पादन हुनथाले पनि बजार नपाउँदा समस्या रहेको उनले सुनाए ।
फागुन १७ यता न्यूनतम १४ सय र अधिकतम १५ सय रुपैयाँ किलोमा कुरिलो विक्री हुन थालेका हुन् । फागुन १८ मा १२/१५ सय रुपैयाँ, फागुन १९ मा १२/१४ सय रुपैयाँमा कुरिलो बेचिएको र फागुन २०, २१, २२, २३ मा भने कालिमाटी बजारमा कुरिलो नआएको समितिले जनाएको छ । समितिका अनुसार फागनु २४ र २५ गते कुरिलोको मूल्य ८ सयदेखि हजार रुपैयाँ थियो । फागुन २६ मा ८ सयदेखि ९ सय रुपैयाँ मूल्य रहेकोमा फागुन २७ मा ७ सयदेखि ८ सय रुपैयाँ, फागुन २८ मा ६ सयदेखि ८ सय, फागुन २९ मा ६ सयदेखि ७ सय रुपैयाँ, फागुन ३० र चैत १ गते ६ सयदेखि ८ सय रुपैयाँमा कुरिलो विक्री भइरहेको छ ।









