भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै
काठमाडौँ, २२, फागुन । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ ।भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ४७६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५९ हजार ४४२ पुगेको अधिकारीले जनाएका छन् । भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ९ हजार ७५४ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ८८ हजार ४७५ पुगेको छ ।
कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३६ को मृत्यु भएको छ । तीमध्ये १५८ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत शनिबार एक दिनमा भारतमा नौ लाख ९ हजार ९८५ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड २८ लाख भन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ ।
साउदी अरेबियामा कोरोना भाइरसका विरुद्ध लगाइएका प्रतिबन्धहरु हटाइयोयहाँ गत २४ घण्टामा २६ लाख १९ हजार ७७८ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म एक अर्व ७८ करोड ८३ लाख ७९ हजार २४९ डोज खोप लगाइएको छ ।
साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँका आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ ।
त्यसैगरी यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ । पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ ।तर यहाँका नागरिकले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ ।
पछिल्ला केही हप्ताहरुमा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ ।









