image
image

कोरोना र मौसमबाट प्रभावित कोरला नाका निर्माण

काठमाडौँ ११ पुष । बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।

आगामी चैत महिनामा निर्माणाधीन १२ पुलको ठेक्का सम्झौताको थपिएको समयसीमा सकिँदै छ । पर्वतको मालढुङ्गा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म जोड्ने २०० किलोमिटर दूरीको सडकमा रोडा बिछ्याउन र कालोपत्रे गर्न विसं २०७३ देखि शुरु भएको आयोजनाको हालसम्मको भौतिक प्रगति ६५ प्रतिशत छ । नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किमीको कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै छोटो सडक हो । विसं २०६० तिर प्रस्तावित कोरला नाका खोल्ने विषयमा २०६८ माघमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र चीनका प्रधानमन्त्री वेन चिया पाओबीच सम्झौता भएको थियो । गण्डकी प्रदेशको लाइफ लाइन कालीगण्डकी कोरीडोरअन्तर्गत बागलुङ, गुल्मी र पर्वत खण्डमा साधारण मार्ग खुलिसकेको छ ।

अठार महिनादेखि दुई वर्षको सम्झौता म्याद भएका राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गतको यो सडकको ७५ किमी दूरीका छ खण्ड र आठ मोटरेबल ब्रिज निर्माण सकिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक र पुल निर्माण प्रभावित भएको मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । “कुनै पनि मोटरेबल पुल निर्धारित समयमा निर्माण हुन सकेका छैनन्”, उहाँले भन्नुभयो “स्थानीयवासी र मुस्ताङ आउने पर्यटकलाई सास्ती भएको छ ।” पर्याप्त मजदुर र उपकरण परिचालन गर्न तथा निर्माण सामग्री जुटाउन नसकेका निर्माण व्यवसायी कोरोना महामारी र मौसमलाई देखाएर जिम्मेवारीबाट पन्छिनु दुःखद् भएको उहाँको गुनासो छ ।

पुल निर्माण अवस्था

मुस्ताङको कैकुखोलामा गणपति निर्माण कम्पनीले विसं २०७५ मा रु तीन करोड २५ लाखमा ठेक्का लिएको २० मिटर लामो पुलको भौतिक प्रगति २५ प्रतिशत छ । कालिका गजुरमुखीले रु सात करोड ४४ लाखमा ठेक्का पाएको ८० मि लामो छाक्ताङ खोलाको पुल निर्माणको प्रगति भने ६० प्रतिशत छ ।

गणपति कम्पनीले रु तीन करोड २९ लाखमा ठेक्का पाएको लार्जुङ खोलाको २० मि लामो पुलको ५५ प्रतिशत प्रगति छ । हिमदुङ एण्ड थोकर इमोटल कन्स्ट्रक्सनले रु २१ करोड ६० लाखमा ठेक्का लिएको १२० मि लामो मार्फाखोला र ९० मि लामो छुसाङ खोलाको पुल ६० प्रतिशत निर्माण सकिएको छ ।

गल्वा रफिना जेभीले रु दुई करोड ८८ लाखमा ठेक्का लिएको कागबेनीखोलाको २५ मि लामो पुल ९० प्रतिशत सकिएको छ । हिमदुङ एण्ड थोकर इमोटल जेभीले रु आठ करोड ८७ लाखमा ठेक्का लिएको घमीखोला पुलको ४० प्रतिशत, काष्ठमण्डप कन्स्ट्रक्सनले रु १० करोड आठ लाखमा ठेक्का लिएको चराङ्खोला पुलको ६० प्रतिशत प्रगति छ ।

मुक्तिनाथ–अमित जेभीले रु चार करोड ६८ लाखमा ठेक्का लिएको २० मि लामो लोमान्थाङ्खोलाको ३० प्रतिशत, रु छ करोड ३० लाखमा सम्झौता भएको किम्लीङ्खोला पुलको ४० प्रतिशत, रु छ करोड ३५ लाखमा ठेक्का लिएको ५० मि लामो नामदोक खोला पुलको ४० प्रतिशत र रु छ करोड ४५ लाखमा सम्झौता भएको ४० मि लामो भर्मा खोला पुलको ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

म्याग्दीको बेगखोलामा पुल महाशाखाले ७० मि लामो मोटरेबल पुल बनाउन ठेक्का प्रक्रिया शुरु गरेको छ । बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । पाण्डाखोलामा पुल बनाएको भन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मि लामो अर्को पुल बनाउन प्रस्ताब गरिएको छ । “छुसाङको मुस्ताङ गेटमा डोलिडारले बनाएको पुलसँगै अर्को ५० मिटर लामो पुल बनाउन प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो “पुलले खोलाको सबै भाग समेट्न नसकेपछि नयाँ बनाउन आवश्यक देखिएको हो ।”

कालिका गजुरमुखीका आयोजना व्यवस्थापक राजन न्यौपानेले अत्याधिक चिसो, बेमौसमी वर्षा र हिमपातका साथै दुई पटकसम्मको कोरोना महामारीले सडक तथा पुल निर्माण प्रभावित बनाएको बताउनुभयो । थपिएको समयभित्र सम्झौतानुसार पुल तथा सडक निर्माण सम्पन्न गराउन जुटेको उहाँको भनाइ छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र छन् । आयोजनाका इन्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरी दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताउनुभयो । “४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलका दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खलबलाउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ”, उहाँले भन्नुभयो “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन र पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।”

गण्डकी प्रदेशको भाग्यरेखा बेनी– कोरला नाका जोड्ने सडकमा आठ मोटर चल्ने पुल निर्माण सकिएका छन् । थप एक निर्माणको अन्तिम चरण र १२ निर्माणाधीन छन् । थप पाँच पुल बनाउन ६ ठाउँमा पुल बनाउन आवश्यक छ । आयोजनामार्फत म्याग्दीको राहुघाटमा रु छ करोड १४ लाखका लागतमा ४० मि, रु पाँच करोड ७८ लाखमा घट्टेखोलामा ४० मि, मुस्ताङको स्याङ खोलामा रु दश करोड ५२ लाख ११५ मि र पाण्डाखोलामा रु चार करोड ३७ लाखमा ५० मि पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले रु १९ करोडको लागतमा म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मि लामो, ११ मि फराकिलो मोटर चल्ने पुल निर्माण गरेको छ ।

महभिरको पुल सञ्चालनमा आइसकेको छ । निर्माण सकिएको पोखरेबगरको पुल सञ्चालनका लागि पहुँचमार्ग बनाउन थालिएको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले रु चार करोड ७३ लाख ८८ हजार ६८ मा ७७ दशमलब दुई मिटर लामो पुल बनाएको छ ।

जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले भारतीय दूतावासको रु चार करोड ४४ लाख सहयोगमा ४६ मि लामो र ७ दशमलव २० मि लामो पुल बनाएको थियो । गजुरमुखी निर्माण कम्पनीले विसं २०७५ मा रु छ करोड २० लाखमा ठेक्का लिएको ४० मि लामो लेते खोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।