image
image

दुर्गन्धित बन्दै सेती नदी

काठमाडौँ, १०, मंसिर । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहर सिधैँ सेती नदीमा फालिने गरेका कारण बर्सेनि फोहर तथा दुर्गन्धित बन्दै गएको हो । प्रदूषणकै कारण अहिले नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

सदरमुकाम दिपायल, पिपल्ला किनारका बस्तीका सबै फोहर नदीमै जान्छ, स्थानीयवासी तथा व्यापारी रामबहादुर विष्टले भने । उनका अनुसार बजार क्षेत्रको फोहोर सेतीमै बिसर्जन गरिन्छ । किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ । अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ । यसले सेती नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो । कुहिने नकुहिने सबै प्रकारका फोहर सेतीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो ।

यहाँका व्यापारी तथा स्थानीयवासीले घरको ढल र प्लास्टिकजस्ता फोहोर सधैँ नदीमा फाल्ने गरेका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ, उनले भने , नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहर तथा स्थानीयवासीले ढल सिधैँ नदीमा फाल्ने गरेका छन्, यसले बर्सेनि सेती नदी दुर्गन्धित बन्दै गएको छ । बजारबाट निस्किने फोहर तथा ढल नदीमा मिसाउने विषयमा पटक–पटक दिपायल सिलगढी नगरपालिकामा जानकारी गराउँदासमेत व्यवस्थापनका लागि नगरपालिकाले खासै चासो नदेखाएको स्थानीयवासीको आरोप छ ।

यहाँको शिखर नगरपालिकाको बानीडुग्रीसैनदेखि दिपायल सिलगढी नगरपालिकाको नारिदाङसम्मका नागरिकले सेती नदीको पानी प्रयोग गर्दै आएका छन् । खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको भए पनि यहाँका दुई स्थानीय तह दिपायल सिलगढी र शिखर नगरपालिकाले नदीमा फोहर व्यवस्थापनका लागि पहल नचालेकाले यस्तो समस्या उत्पन्न भएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले बताए ।

उनले भने, फोहर व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल चाल्दैन, बजारको फोहर र घरका ढल जति नदीमा छन्, कसरी सेती नदी सफा र शुद्ध हुन्छ । उनका अनुसार नदी किनारका कयौँ घरको शौचालयको सेफ्टीट्याङ्की अहिले पनि छैनन् । मदिराका बोतल जथाभावी फालिएका देखिन्छन् ।

घर तथा बजारबाट निस्किने फोहर नदी तथा खोलामा सिधैँ फाल्न नपाउने कानूनी व्यवस्था भए पनि त्यसको वास्ता नगरी नदीमा फोहर व्यवस्थापन गरिएकाले समस्या भएको कानून व्यवसायी शङ्करदीप मडैले बताए । उनले भने, नदी तथा खोलामा सिधैँ फोहर व्यवस्थापन गर्न नपाइने कानूनी व्यवस्था छ तर त्यसको कार्यान्वयन नहुँदा समस्या भएको देखिन्छ ।

सेती नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने वातावरणविज्ञको भनाइ छ । घरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा दूषितको मात्रा बढ्दै गएको छ । यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ, वातावरणविज्ञ भन्छन्, यसतर्फ सबैले समयमै सोच्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।