किसानलाई अनुदानमा गहुँको बिउ
काठमाडौँ, ३०, कात्तिक । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधामा ५० प्रतिशत र ७५ प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको छ ।
गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर चौधरीले जानकारी दिए ।
कृषि शाखाका अनुसार गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहँुको बीउ उपलब्ध गराएको छ ।
कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् ।
यहाँ खेतीका लागि उर्बर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनबढी सहकारीले बीउ वृद्धिका क्ष्ेत्रमा काम गरिरहेको छन् । याहाँ सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ ।









