image
image

कोरोनाका कारण प्रभावित नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा

काठमाडौँ, १५, कात्तिक । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बस सेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ। नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो। 

कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती व्यहोर्नुपरेको थियो। लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ। सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपालीहरु धेरै ठाउँमा ठगिने गरेका थिए। 

बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिए।

मैत्री बस सञ्चालन भएपछि भारतका विभिन्न सहरमा यात्रा गर्नेलाई सुरक्षित र सहज यात्रा गर्ने अवसर मिलेको उनको भनाइ छ। रोकिएको मैत्री बससेवा सुरु भएपछि भारतबाट फर्किने नेपालीहरू सीधा नेपालगञ्ज आउने भएकाले यहाँका होटल तथा व्यापार व्यवसायमा समेत प्रत्यक्षरूपमा फाइदा पुग्ने उनले बताए।

नेपालगञ्जबाट भारतको लखनऊ स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो सङ्ख्यामा नेपाली नागरिक जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनऊबाट नेपालगञ्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिए। उनका अनुसार दिल्लीका लागि नेपालगञ्जबाट साँझ ५ बजे र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे तथा देहरादुन र हरिद्वारका लागि नेपालगञ्जबाट राति ८ बजे बस छुट्ने गरेका छन्। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।