image
image

देशभर आन्तरिक पर्यटकको चहलपहल

काठमाडौँ, ७, कात्तिक । कोरोना भाइरसले थलिएको नेपालको पर्यटन क्षेत्रको ढोका विस्तारै खुल्न थालेको छ । नेपाल सरकारले विदेशी पर्यटन नेपाल आउनका लागि सहज वातावरण बनाएसँगै पर्यटन बजार लयमा फर्किने अवस्थामा छ ।यतिबेला विदेशी पर्यटक तत्काल विगतकै तुलनामा नेपाल आउने वातावरण नभए पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीका अनुसार दसैँ–तिहारको सेरोफेरोमा एक जिल्लाका व्यक्ति अर्को जिल्लाको पर्यटकीय गन्तव्यमा घुम्न पुगेका छन् । यस्ले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहेको सिइओ रेग्मीको भनाइ छ । 

‘दसैँ अघिदेखि नै पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चहलपहल थियो । दसैँले घुम्नेलाई थप उत्साह थपेको छ, बोर्डका सिइयो रेग्मीले भने,‘नेपालमा आन्तरिक पर्यटकीय गन्तव्यमा घुम्ने व्यक्ति एवं समूहको विकास भइरहेको छ । आफ्नो आर्थिक क्षमताअनुसार पर्यटकीय गन्तव्यमा घुम्नेहरूको भीड विस्तारै वृद्धि भइरहेको उनको भनाइ छ । दसैँको समय धार्मिक पर्यटकहरूका चाप बढी रहेको बोर्डले जनाएको छ । 

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपालका अध्यक्ष खुम सुवेदीले दसैँ सेरोफेरोमा सोचेभन्दा धेरै आन्तरिक पर्यटकहरुको चहलपहल भएको बताए । उनले काठमाडौं नजिकका पर्यटकीय गन्तव्यसँगै देशको मुख्य मुख्य पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लागेको बताए ।

‘पहिलो देश अनि मात्रै विदेश घुम्नेहरूको लहर चलेको छ । यो सुखद पक्ष हो । आन्तरिक आर्थिक चहलपहल पनि हुन्छ,’ अध्यक्ष सुवेदीले भने, ‘सरकारले पनि आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ ।’ 

उनका अनुसार देशभरि नै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यसले स्थानीय तहमा भएका होटल, पर्यटन व्यवसायीलाई आशा जगाएको सुवेदीले बताए । 

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले आन्तरिक पर्यटकको चहलपहलसँगै पर्यटन उद्योगको ढोका खुलेको बताए । उनले पछिल्लो समय हाइकिङ रुटदेखि पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप बढेको बताए । 

सरकारले विदेशीभन्दा पनि अहिले स्वदेशी आन्तरिक पर्यटक बढाउने गतिविधि गर्नुपर्ने महासचिव गुरुङको भनाइ छ । उनले सरकारले जसरी लिभ होलिडे भनेर घोषणा गरियो कार्यान्वयन पक्षमा ढिला भएको बताए । 

कोरोना पेन्डामिक पछिको  समयमा नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव छ । स्थानीय निकायले आफ्नो क्षेत्रको पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनका लागि प्रचारप्रसार गर्नु विभिन्न कार्यक्रम गर्नुपर्ने एनएमएका महासचिव गुरुङको भनाइ छ । 

यस वर्षको देसैँमा इलामका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको संख्या बढेको छ । देशका विभिन्न स्थानबाट इलाम प्रवेश गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा निकै बढेको इलाम र झापाको सीमानामा रहेको पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार साउन महिनायता विभिन्न जिल्लाबाट इलामका पर्यटकीय स्थलको भ्रमणका लागि ६३ हजार पाँच सय ६४ पर्यटक आएका छन् । जिल्ला समन्वय समिति र पर्यटन प्रर्वद्धन सरोकार समितिले इलाम–झापा सीमा क्षेत्रमा स्थापना गरेको सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेका अनुसार यस अवधिमा एक सय ४८ जना विदेशी पर्यटकले इलामको भ्रमण गरेका छन् । 

दसैँको सेरोफेरोमा रिभाइभ लिजर पार्क होटलका सञ्चालक शुक्र पाख्रिनको टिमले अन्नपूर्ण क्षेत्रको भ्रमणमा निस्किएका थिए । उनी हरेक वर्ष केही न केही समय सन्दर्भमा नेपालकै पर्यटकीय क्षेत्रमा घुम्न जाने गरेको बताउँछन् । उनी परिवारसहित अन्नपूर्ण क्षेत्रमा घुम्न गएका हुन् ।  

यसैगरि विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य दोलखाका च्छोरोल्पा केही दिनअघि मात्रै पुगेर फर्किका छन्, मन्दिरा थापाको टिम । उनीहरू साथीहरूको टिम बनाएर घुम्न गएका हुन् । यस्तै, गोसाइँकुण्ड, लाङटाङ, पोखरा, चितवन, रारा, तिलिचो ताल, सगरमाथा बेसक्याम्पदेखि दोलखाको च्छोरोल्पा ताल, अन्नपूर्ण क्षेत्र लगायतको क्षेत्रमा पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चाप बढेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।