image
image

दशैंको मुखमा पनि भारत पलायन हुनपर्ने बाध्यता

काठमाडौँ २१ असोज । दशैं–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दशैंको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो । कोरोना भाइरस सङ्क्रमणका कारण स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन् ।

कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदूरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ । “दसैँको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र” बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भने, “छाक टार्न समस्या भए पनि के दसैँ के तिहार ।”

कोरोना सङ्क्रमण बढ्दा गत चैतमा स्वदेश आएका उनले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न समेत धौधौ भएको बताए । दशैं–तिहार भन्दा पनि कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उनको भनाइ छ । त्यसैगरी बिहीबार बिहान भारतको हरिद्धार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ । “दश वर्षभयो हरिद्वारमा काम थालेको हो”, उनले भने, “यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दशैं नहुने घरमा बसेर के गरौंँ भनेर भारत जाने लागेको हुँ ।” उनले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताए । 

त्यस्तै डोटीका धनादेवी रावतले दशैं छाडेर जाँदा मन अमिलो भइरहेको बताए । “सबैको घरमा आज दसैँको उल्लास सुरु भयो”, उनले भने, “गरिबलाई न खुसी नत सुख नै मिल्दो रहेछ ।” इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले घटस्थापनाको दिन यस नाकाबाट एक सयभन्दा बढी नेपाली मजदूरीका लागि भारततर्फ गएको बताए ।

“आउने बढिरहेको भए पनि जाने क्रम दसैँले छेकेको छैन्”, उनले भने, “हामीले चाडपर्वका बेला हुने आपाराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौं ।” उनले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिए । उनका अनुसार विगत एक सप्ताहको तथ्याङ्क हेर्ने हो भने दैनिक रुपमा २५० देखि ५००÷६०० सयसम्म नेपाली नागरिक मजदूरीका लागि भारततर्फ जाने गरेका छन् ।  

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट नाकाबाट बुधबार मात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् । “विगतका वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउन घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो”, उनले भने, “यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्ग्लोर, पञ्जाव, सिमलालगायतका सहरतर्फ बढी जाने गर्छन् ।” प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैँको मुखमा भारत जाने क्रम चलिरहेको छ । डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम कम भए पनि नरोकिएको बताए । “यो नाकाबाट प्रायः बेलुकीतिर मजदूरीका लागि नेपाली नागरिक भारततर्फ  जाने गर्छन्”, उनले भने, “बुधबार मात्र एक सय ११ जना रोजगारीका लागि भारततर्फ गएको तथ्याङ्क छ ।” उनले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिए ।

“चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्”, उनले भने, “अहिले नाकामा आवागमन सहज पारिएको छ ।” सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना भाइरस सङ्क्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम  बढ्दो छ । रासस 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।