image
image

छ महिनापछि खुल्यो टीकापुर पार्क

काठमाडौँ, २०, असोज। कोभिडका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ ।

आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएको छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत भदौ १९ गतेदेखि खुला गरिएको हो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाखबाट पार्क बन्द भएको थियो । निषेधाज्ञा खुलेसँगै गत भदौ १९ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकहरूको अवलोकनका लागि पार्क खुला गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । पार्क खुला भए पनि विगतका वर्षहरु जस्तो पर्यटकको भीडभाड भने निकै कम भएको छ । दशैँतिहारको समयमा पार्क अवलोकनका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको छ । पार्कमा कार्यरत विनोद चौधरीका अनुसार अहिले दैनिक एक सयसम्म पर्यटकहरु पार्क अवलोकनका लागि आउने गरेका छन् ।

पर्यटकको सङ्ख्यामा निकै कमी आएको छ । विगतमा दसैँ तिहारको समय सुरु भएपछि पार्कमा पर्यटक थेग्न गाह्रो हुन्थ्यो, उनले भने, यसपछि के हुन्छ थाहा छैन । अहिलेसम्म पर्यटकमा वृद्धि भएको छैन । शनिबारका दिन भने केही बढी पर्यटक आउने गरेका छन् । उनले पार्कमा कार्यरत कर्मचारीबाहेक अन्य ४० जना कामदार लगाएर पार्कको सरसफाइ लगायतका काम सम्पन्न भएको उल्लेख गर्दै पार्कको आन्तरिक व्यवस्थापनको बाँकी काम पनि जारी रहेको बताए ।

बर्दियाको राजापुरबाट टीकापुर पार्क अवलोकनका लागि आएका राजेश चौधरीले लामो समयपछि टीकापुर पार्कको अवलोकन गर्न पाउँदा खुसी लागेको बताए । उनले कोरोनाका कारण भएको बन्दाबन्दीले लामो समयसम्म घरभित्र गुम्सिनु परेको बताउँदै पर्यटकीय क्षेत्रहरु खुला भएसँगै घुमघामका लागि सहज भएको बताए ।

राजेशले पार्कमा सरसफाइको काम भएको भनिए पनि सरसफाइको काम हुनुपर्ने जति नभएको बताए । बन्दाबन्दीले पार्कभित्रको सौन्दर्यतामा ह्रास आएको रहेछ । सरसफाइमा नभएको हुँदा होला पहिलेको जस्तो रौनक पार्कमा देखिएन, चौधरीले भने, अब चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको वृद्धि हुने भएकाले पार्कको सरसफाइ अनिवार्य छ । पर्यटकलाई आकर्षण गर्ने गरी नगरपालिकाले काम गर्न सके पार्कबाट ठूलो लाभ लिन सकिनेछ ।

टीकापुर पार्कमा दसैँतिहार र नयाँ वर्षको दिन सबैभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । उक्त सिजनमा मात्रै रु ३० लाखभन्दा बढी राजस्व सङ्कलन हुने गरेको बताइएको छ । गत वर्ष तिहारको समयमा पार्क खुला नभएका कारणले पनि राजस्व सङ्कलनमा कमी आएको चौधरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।