image
image

ह्वात्तै बढ्यो तरकारीको मूल्य, केमा कति ?

काठमाडौँ, १४, असोज । हरेक वर्ष झैँ यसपाली पनि चाडबाडको मुखमा तरकारीको भाउ उकालो लागेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनायता तरकारीको मूल्य बढिरहेको छ । भदौ १३ गते प्रतिकिलो २० रुपैयाँ थोक मूल्य रहेको तीते करेलाको मूल्य आज (बुधबार) ९५ रुपैयाँ पुगेको छ ।

यस्तै, सोही मितिमा प्रतिकिलो २० रुपैयाँका दरले किनबेच भएको लौकाको मूल्य अहिले ७५ रुपैयाँ पुगेको छ । समितिका निर्देशक विनय श्रेष्ठले पछिल्लो एक महिनायता तरकारीको मूल्य बढ्न थालेको बताए । पछिल्लो समय तीते करेला, लौका, घिरौंला र साग लगायतको मूल्य पनि बढेको छ । तर, यो अवधिमा केही तरकारीको मूल्य भने घटेको छ ।’

उनका अनुसार खासगरी उत्पादन सिजन सकिएका तरकारीको मूल्य केही महँगो भएको छ । निषेधाज्ञा हटेकाले यतिखेर होटलररेष्टुराँ र क्यान्टिन लगायत खुल्दा पनि बजारमा तरकारीको माग बढेको छ । माग बढेको, तर आपूर्ति पर्याप्त नभएकाले पनि मूल्य उकालो लागेको समितिले जानकारी दिएको छ ।

हाल कालिमाटीबाट बजारमा दैनिक ७५० टन तरकारी खपत हुँदै आएको छ । यसमध्ये ६५ प्रतिशत उत्पादन स्वदेशकै हो भने भारतबाट ३५ प्रतिशत आउँछ । खासगरी, पछिल्लो समय भारतबाट सकेको प्याज, आलू, गोलभेँडा र फलफूल आयात हुने गरेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले यो वर्ष उत्पादन घटेकाले मूल्य बढेको बताए । उनले निषेधाज्ञाका कारण धेरै कृषि उत्पादनले बजार नभएपछि किसानले खेती नै नलगाउँदा उत्पादनमा ५० प्रतिशतसम्मको ह्रास आएको बताए । श्रेष्ठले भने, ‘निषेधाज्ञा हुँदा किसानले उब्जाएको तरकारी बिक्री भएन, ठूलो लगानी खेर गयो । त्यसपछि पकेट क्षेत्रमै तरकारी उत्पादन घट्यो र मूल्य बढ्यो ।’

यसैगरी, कालिमाटीका खुद्रा व्यापारी भगवान उप्रेतीले पछिल्लो समय निरन्तर वर्षा हुँदा तरकारीको मूल्य बढेको जानकारी गराए । उनले रातोपाटीसँग भने, ‘निरन्तर पानी पर्दा उत्पादित तरकारी बिग्रियो । जसकारण बजारमा आवश्यकता अनुसार तरकारी आएन र मूल्य बढ्यो ।’

वर्षाकै कारण यस वर्ष देशभर दर्जनभन्दा बढी सडक अवरुद्ध हुँदा उत्पादित तरकारी बजारसम्म आउन नसकेको कालिमाटीका व्यापारीहरू बताउँछन् । पछिल्लो समय गोलभेँडा, काउली, लौका, घिरौंला र तीते करेला लगायत तरकारीको उत्पादन नै नभएकाले मूल्य बढेको उनीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।